पछिल्लो अपडेट: अप्रिल 28, 2023
तस्विर क्रेडिट: The Metropolitan Museum of Art, New York
याकूबले आफ्नो पत्रको शुरुवातमा विश्वासीहरूलाई यो अर्ती दिन्छन्ः तिनीहरू नाना किसिमका परीक्षाहरूमा पर्दा तिनीहरूले त्यसलाई ठूलो आनन्द ठान्नुपर्दछ (याकूब १:२) । यस्तो शिक्षालाई पढ्दा, सजिलैसँग त्यसलाई हरेक विश्वासीलाई निर्दिष्ट रूपमा निराश पार्ने साझा परीक्षाहरूको लागि साधारण सल्लाह, मार्गदर्शन ठान्न सकिन्छ । त्यसैले, याकूबले यस्तो कुरा लेखिरहेका छन् भनी कसैले गलत रूपमा पढ्न सक्लान्, “अँ, अहिले तिमी धेरै थरिका परीक्षाहरूले घेरिएका छौ, तर आनन्दलाई रोज ।” कसैले आफ्नो साथीलाई त्यसमा पनि अत्यन्त गलत समयमा यसो भनिरहेको सजिलैसँग कल्पना गर्न सकिन्छ ।
यदि कसैले याकूबको पत्रलाई यस प्रकारले पढ्छ भने, सायद सल्लाह नै उसको निम्ति यस्तो एउटै (सङ्गीतको) नोट भएको छ जसमा उसको कान परिचित छ, तर याकूबले आफ्ना पाठकहरूलाई बुद्धितर्फ आह्वान गर्दछन् । तिनले हामीलाई एउटा पूरै धूनतिर डोर्याउँदछन्, कुनै एउटा (सङ्गीतको) नोटतिर मात्र होइन । त्यसैले, याकूबले आफ्नो पत्र अर्तीबाट शुरु गरे तापनि, उनका पाठकहरूले चाँडै नै यो कुरा जान्दछन् कि यो अझ ठूलो बुँदाप्रति लक्षित छ । तिनले हामीलाई अर्ती मात्र दिँदैनन्, तर हामीलाई यो पनि स्मरण गराउँदछन् कि बाइबलीय निर्देशनहरूलाई लक्षित गरिएको छ जुनचाहिँ क्षणिक द्वुविधाको समाधानभन्दा ठूलो कुरा हो । त्यसैले याकूबले व्याख्या गरेअनुसार, परीक्षाचाहिँ खुशीको तीव्र खोजीमा होशियारीसाथ व्यवस्थापन गर्नुपर्ने कुरा मात्र होइन; न त परीक्षाबाट तत्कालै छुटकारा पाउनु नै सर्वोच्च भलाइ हो । बरु, यो पहिलो अध्यायमा, याकूबले एउटा परिदृश्य प्रस्तुत गर्दछन् जसमा परीक्षा स्वयंलाई आनन्दको अग्रदूत बनाइएको छ । यसलाई आनन्दको सेवक बनाइएको छ ।
* * *
तथापि, याकूबको शुरुको सल्लाह अशान्त तुल्याउने किसिमको छ । के विश्वासीले परीक्षामा पर्दा त्यसलाई ठूलो आनन्द सम्झनुपर्दछ ? ती दुष्ट परीक्षाहरूलाई पनि जसलाई उसले न त निम्त्याएको हो न पूर्ण रूपमा हटाउन नै सक्दछ ? हो, सम्झनुपर्दछ, र यसले याकूबको तर्कमा अप्रत्याशित तत्वलाई प्रवेश गराउँदछः तिनले आनन्द र परीक्षाहरूको बारेमा एकसाथ बताउन सक्दछन् । प्रष्ट रूपमा भन्नुपर्दा, याकूबले विश्वासीहरूलाई आफैमाथि परीक्षाहरूलाई निम्त्याउन निर्देशन दिँदैनन् । (पदहरू १३-१५ ले परीक्षासँग सम्बन्धित खतराहरूलाई प्रष्ट रूपमा उल्लेख गर्दछन् ।) साथै, तिनले अनेकौं किसिमका परीक्षाहरूको बारेमा संभवतः सोचेका हुन सक्छन्, र आजभोलि मानिसहरूले त्यस शब्दसित बारम्बार लगेर जोडिदिने शारीरिक परीक्षाको बारेमा मात्र होइन । त्यसो भए पनि, याकूबको सल्लाह खडा रहन्छः विश्वासीले परीक्षालाई आनन्द मनाउने मौका ठान्न सक्दछ । कसरी त ? यो प्रश्नको जवाफलाई याकूबले परीक्षालाई अझै अन्य वास्तविकताहरूसँग जोडिदिने तरिकामा बुझिन्छ ।
* * *
यो चर्चामा, याकूबको अर्तीले सर्वप्रथम यो कुरा स्वीकार गर्दछ कि विश्वासीको सामु आइपर्ने जुनसुकै परीक्षाले वास्तवमा उसलाई थिच्दछ र उसको विश्वासमा हानि पुर्याउँदछ । याकूब प्रष्ट भन्दछन् र परीक्षालाई विश्वासको एउटा जाँच भन्दछन् (पद ३) । कष्टको गम्भीरता घट्दैन । परीक्षा — कम्तिमा पनि याकूबले यसलाई पदहरू तेह्रदेखि पन्ध्रसम्म व्याख्या गरेजस्तै — एउटा डरलाग्दो कुरा हो । यसले मानिसलाई आक्रमण गर्दछ र उसलाई मार्न खोज्दछ । यसले नै याकूबको अन्तिम निष्कर्षलाई त्यति अप्रत्याशित बनाइदिन्छ । विश्वासीको विश्वासलाई हानि पुर्याउने परीक्षाचाहिँ उही आधार बन्न पनि सक्दछ जसमाथि विश्वास विजयी हुँदछ ।
याकूबले वर्णन गर्ने घटनाहरूको क्रममा, विश्वास परीक्षाभन्दा पहिला आउँदछ । यदि परीक्षाले विश्वासलाई हानि पुर्याउँदछ भने, यो कुरा पनि साँचो हो कि परीक्षाले आफूलाई प्रस्तुत गर्नुभन्दा र विश्वासको जाँच शुरु हुनुभन्दा पहिला नै विश्वास उपस्थित हुन्छ । यही तथ्यको आधारमा नै याकूबले आफ्नो अप्रत्याशित तर्क अगाडि बढाउँदछन् । विश्वासले परीक्षाको विरोध मात्र गर्दैन; विश्वासले त परीक्षालाई त्यसका शुरुका र दुष्ट युक्तिहरूको विरुद्धमा पनि चलाइदिन सक्दछ । परीक्षाले नाश पार्न खोजेको कुरा — सद्गुण — उत्पन्न गराउने गरी विश्वासले मात्र परीक्षाको माझमा काम गर्न सक्दछ । यही नै याकूबको अर्तीको व्यङ्ग्य हो । विश्वासले विश्वासीमाथि आइपर्ने परीक्षाको लक्ष्यको सामना गर्दछ, तर त्यो परीक्षाले अप्रत्याशित कुरा गराउँदछः विश्वासले धीरज उत्पन्न गराउँदछ । तब हामी पढ्न पाउँदछौं कि धीरजले एक किसिमको सन्तुष्टिमा पुर्याउँदछ, जसलाई याकूबले यहाँ उक्त कष्टको लक्ष्य र सिद्धताको रूपमा वर्णन गर्दछन् । उचित रूपमा सामना गरिएको परीक्षाले यस्तो अवस्था उत्पन्न गराउँदछ जसमा विश्वासले कुनै कुराको पनि चाहना गर्दैन (याकूब १:४) । यही नै याकूबले जनाउने सिद्धता हो जस्तो देखिन्छ ।
त्यसपछि, यसले एउटा अतुलनीय श्रृङ्खला प्रस्तुत गर्दछ । व्यङ्ग्यमाथि व्यङ्ग्य थुप्रिन्छः परीक्षाको रूपमा जे शुरु हुँदछ, अन्त्यमा गएर विश्वासीको यस स्वीकारोक्ति र अनुभवमा टुङ्गिन्छ कि उक्त परीक्षाले उसलाई प्रस्ताव गर्ने कुरा उसलाई चाहिँदैन । एउटा अप्रत्याशित तरिकाले, शुरुको परीक्षा त्यसले लक्षित गरेको कुराको ठीक विपरीत कुरामा टुङ्गिन्छः जीवनले परीक्षाको जाँचको व्यङ्ग्यात्मक उपलब्धी हासिल गर्दछ । पूर्ण खुशी र आनन्द त्यसको निष्कर्ष बन्दछः “धन्य हो त्यो मानिस, जो परीक्षामा स्थिर रहन्छ; किनकि उसको जाँच भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसित गर्नुभएको छ।” (याकूब १:१२) ।
* * *
विश्वास, धीरज र सिद्धतासँग हुने परीक्षाको यो असुहाउँदो सम्बन्ध नै त्यो सन्दर्भ बन्दछ जसमा याकूबले त्यसपछि मृत्युतर्फ हुने परीक्षाको अत्यन्त सामान्य चाललाई वर्णन गर्दछन्ः
तर हरेक मानिस आफ्नै अभिलाषाद्वारा खिँचिएर र फसेर परीक्षामा पर्छ। त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप पूरा बढ़ाइएपछि त्यसले मृत्यु उत्पन्न गर्छ। (याकूब १:१४-१५)
विश्वास र प्रेमले नियन्त्रण नगरिएमा, परीक्षाले सजिलैसँग आफ्नो मौलिक लक्ष्य हासिल गर्दछ । कामवासनाले परीक्षासँग मिलेर पाप उत्पन्न गराउँदछ, त्यहाँसमेत जहाँ विश्वासले आश्चर्यजनक रूपमा धीरज उत्पन्न गराएको थियो (पदहरू ३-४) । त्यसपछि, ती दुई श्रृङ्खलाहरू आपसमा मिल्दैनन्, अनि पाठकले उक्त खण्डको यो पक्षलाई देख्नैपर्छ । त्यसैले, हामी सिक्दछौं कि परीक्षाले सदैव हाम्रा चाहनाहरूको साँचो स्वभाव र लक्ष्य प्रकट गर्दछ, जसको कारण याकूबले अधिकारसम्पन्न तवरले एकसाथ सहनशीलता र प्रेमको बारेमा बताएका हुन सक्छन् (याकूब १:१२) । कहिलेकाहीँ चाहनाहरू तत्कालै पूरा गरिन्छन् र तिनलाई वासनाहरूको रूपमा प्रकट गरिन्छ (याकूब १:१४) । कतिपय समयहरूमा, तिनलाई धीरजमा प्रमाणित गरिन्छ, तिनको उचित लक्ष्यसँग जोडिन्छ र परमेश्वरको दानको रूपमा आनन्द मनाइन्छ (याकूब १:१७) । हामी चाहना राख्ने सृष्टिहरू हौं भन्ने कुरा परमेश्वरले नै हामीलाई दिनुभएको कुरा हो; हामीले ती चाहनाहरूलाई पापमा तृप्त पार्दछौं भन्ने कुरा हाम्रो दण्डको आज्ञाको प्रमाण र पुष्टि हो ।
* * *
याकूबको थप अर्ती “धीरजलार्इ आफ्नो सिद्ध काम गर्न देओ” (याकूब १:४) ले समय लाग्ने कुरालाई जनाउँदछ, तर यसको अर्थ यो होइन कि याकूबको आज्ञा पावलले तिमोथीलाई “जवानीका अभिलाषाहरूदेखि भाग” भनी दिएका शिक्षाभन्दा कम जरुरीको छ (२ तिमोथी २:२२) । बरु, याकूबबाट, हामी थप यो कुरा बुझ्दछौं कि धीरजचाहिँ परमेश्वरले समयसँगै गर्नुहुने अविरल काम — हाम्रो पवित्रीकरण — लाई स्वीकार गर्नु र त्यसमाथि भरोसा गर्नु हो । यही नै परीक्षाको डरलाग्दो क्षण र मानिसका बारम्बार हुने पतनहरूको जवाफ हो । धीरज हुन याकूबले दिने आज्ञाचाहिँ परमेश्वरको अनुग्रहको गुञ्जिरहने प्रतिध्वनी पनि हो ।
प्रभुले धीरज गर्न भन्नुभएको सिफारिससँगै, उहाँको समयको दान पनि आउँदछ । बुद्धिको निम्ति हृदयदेखि गरिने हरेक नयाँ विन्ती (याकूब १:५) खाँचोहरूको स्वीकारोक्ति बन्दछ । विश्वासीले फेरि विन्ती गर्दछ किनभने उसलाई अझै पनि उसले खोजेको कुराको अभाव हुन्छ र पनि उसले त्यही कुरा माग्दछ जुन कुरा दिने भनी परमेश्वरले निणर्य गर्नुभएको छ । परमेश्वरले यस्ता मानिसहरूलाई “हप्काउनुहुन्न” किनकि उहाँले तिनीहरूका विन्तीहरूलाई तिनीहरूले विश्वासयोग्य, धीरज धरेर गर्ने पवित्रताको खोजीको प्रमाणको रूपमा सुन्ने निणर्य गर्नुभएको छ । तिनीहरूका विन्तीहरूको मात्राले परमेश्वरलाई कहिल्यै दिक्क पार्दैन; त्यसो भए पनि तिनीहरूको विश्वासको गुणस्तर भने सदैव जाँचिन्छः के यसले त्यही कुरा खोज्दछ जुन कुराको प्रतिज्ञा परमेश्वरले गर्नुहुन्छ ? धरमराउने विश्वास हामीले सामान्यतया कल्पना गर्नेजस्तो कमजोर विश्वास होइन भनी याकूबले भन्न खोजेका देखिन्छ — भयभीत हृदयको दयनीय तर शोकमय फुसफुसाहट; बरु, कमजोर विश्वास त बरालिने, दुईचित्ते निवेदकका प्रबल तर अव्यवस्थित प्रार्थनाहरूले पो चिनिन्छन् (याकूब १:५-६) । उसले प्रार्थनामा त्यो कुरा खोज्दछ जुन कुरा विश्वासले ठीक तरिकाले परमेश्वरसँग माग्न सक्दैन । यस्तो मानिस आफ्ना खाँचोहरूमा — आफ्ना चाहनाहरूमा भौंतारिन्छन् । हामीले कुनै कुराको लागि जति बढी विन्ती गर्दछौं, त्यति नै बढी हाम्रो चाहना प्रदर्शित हुँदछ । त्यसैले परमेश्वरले वास्तवमै दिनुहुने कुराप्रतिको धीरजले विश्वासलाई पुष्टि गर्दछ र धीरजले विश्वासलाई त्यहाँ सफल हुने ठूलो मौका दिन्छ जहाँ अन्यथा त्यो निष्फल रहने थियो — त्यो क्षणमा गुञ्जिने वासनायुक्त आवेगमा । जहाँ विश्वासको जाँच हुन सक्दैन, त्यहाँ त्यो सफल हुन सक्दैन, र त्यो सफल हुनुपर्दछ । विश्वासले आफ्नो मौका परीक्षामा पर्दा पाउँदछ, तर यसको विजय भने धीरजमा रहन्छ ।