पछिल्लो अपडेट: फेब्रुअरी 8, 2023
तस्विर क्रेडिट: Wikimedia Commons
प्रभु येशू ख्रीष्टको पुनरुत्थान र स्वर्ग–प्रस्थानचाहिँ सबै ठाउँका मानिसहरूको लागि एकमात्र आशा हो । मानिसले आफैभित्रबाट अस्पष्ट आशावादलाई जगाउनको लागि गर्ने प्रयासहरू दयनीयरूपमा व्यर्थ हुन्छन् । दृढ–विश्वासलाई खोक्रा मानवीय संस्थाहरूसँग जोड्ने अन्य प्रयासहरू अन्ततः असफल हुन्छन्, किनकि ती संस्थाहरू भताभुङ्ग हुँदा ती आशाहरू पनि लथालिङ्ग हुन्छन् । तैपनि येशू ख्रीष्टमा प्रदान गरिएका र रहेका प्रतिज्ञाहरूप्रतिको आशावाद भने प्रभु स्वयं जीवित रहनुहुँदासम्म रहिरहन्छ । अनि उहाँ सदैव जिउनुहुन्छ (प्रकाश १:१८) ।
अझै पनि, होशियार हुनुपर्ने एउटा कारण छः विश्वासीको आशावाद कहिल्यै पनि आफ्नै सेवा गर्ने कुरा बन्दैन, किनकि हामीले अहिले चाहना गर्ने सबै कुरा हामीलाई दिने प्रतिज्ञा परमेश्वरले गर्नुहुन्न र हामीले त्यस्तो विश्वास पनि गर्दैनौं । विश्वासीले अर्कै कुनै कुरालाई र कुनै ठूलो कुरालाई स्वीकार गर्नुपर्दछ, कि पुनरुत्थान हुनुभएका पुत्रद्वारा परमेश्वरसँग गाँसिने उसको सम्बन्ध नै नविकरित र पुनः मिलाइएका आकांक्षाहरूको कारक र विषयवस्तु दुवै हो । परमेश्वरले, उहाँको वचन र उहाँका आत्माद्वारा, विश्वासीका आकांक्षाहरूलाई क्रमिकरूपमा परिवर्तन गर्नुहुन्छ, जसले गर्दा उसले उचितरूपमा र बढ्दो मात्रामा तिनै कुराहरूको लालसा गर्दछ जुन कुराहरू परमेश्वरले आफ्ना पुत्रमा दानको रूपमा दिनुहुन्छ ।
यो दान एउटा एक्लो तर गहकिलो सानो शब्दमा बेह्रिएको छः जीवन । यो शब्दको अर्थलाई जीवशास्त्रीय अर्थमा सीमित पार्ने हो भने हामीसँग सङ्गीत वा कविता हुनेथिएनन् — न त धर्ममय लालसाले भरिएका दुःखद् सुस्केराहरू नै हुनेथिए । वास्तवमा, यो शब्द त्यो अनुभवको किसिम र गुणस्तरसँग सम्बन्धित हुन्छ जसको निम्ति मानिस सृष्टि गरिएको थियो । त्यही अनुभवमा नै सम्पूर्ण सम्वेदनाहरूको प्रयोगले परमेश्वरसँग सङ्गति गर्दछ ।
यूहन्ना १०:१० ले प्रभुको प्रायः उद्धृत गरिने घोषणालाई उल्लेख गर्दछ, “मचाहिँ तिनीहरूले जीवन पाऊन्, र झन् प्रशस्त गरी पाऊन् भनी आएको हुँ ।” यो कुरा पढ्दाखेरि पाठकले वर्तमान अनुभवहरूको क्षेत्रभन्दा बाहिर गएर सोच्न थाल्दछ । जीवनसम्बन्धी धारणालाई एउटा पतित संसारमा दिइने उत्तम दानहरूमा झारिँदैन । जीवनको वास्तविक विवरण र सारचाहिँ पुनरुत्थान हुनुभएका येशूसम्बन्धी तथ्यहरूसँग जोडिएको हुन्छ । यसमा त्यो निश्चयता पनि हुन्छ जसलाई विश्वासीको आफ्नै पुनरुत्थानले एक दिन पाउनेछ, र त्यही तरिका तथा भावनाअनुसार त्यो जीवन अगाडि बढ्नेछ । विश्वासीहरूको आशा तिनीहरूका आफ्नै स्वार्थी चाहनाहरू र ती सबैमा अहिले नै मनाइने आनन्दद्वारा परिभाषित हुन्छ भनी सोच्ने परीक्षामा तिनीहरू पर्दाखेरि, एफिसी ३ः२० ले हामीलाई स्मरण गराउँदछ कि वास्तवमा परमेश्वरका प्रतिज्ञाहरू हामीले माग्न वा सोच्न सक्ने भन्दा उत्तम हुन्छन् । पुनरुत्थानचाहिँ अनन्त जीवनको मूल र रूप दुवै बनेको छ ।
येशूको पुनरुत्थानबिना त, एउटा भिन्दै किसिमको आशाको मात्र कल्पना गर्न सकिन्छ । अनि वास्तविक इतिहास र त्यसका घटनाहरूदेखि अलग हुँदा, त्यसलाई कल्पना मात्र गर्न सकिन्छ । मानिसको धार्मिक कल्पनाभन्दा बाहिर कहीँ पनि त्यो पाइँदैन । यो अकाट्यरूपमा काल्पनिक हुन्छ, र ग्रीक दर्शनशास्त्रीहरू तथा पूर्वीय अध्यात्मवादीहरूले तयार पार्न सक्ने कुराभन्दा उत्तम हूँदैन । विडम्वनाको कुरा, अध्यात्मवाद त आशाविहिनहरूको अन्तिम विकल्प हो । अनि स्वर्गीय अनुभव त दिमागको अन्तिम आविष्कार हो । तर यी कुनै पनि अन्ततः हृदयको लागि पर्याप्त हुनेछैनन् । अन्तस्करणबाट नै मानिसहरू पाप र मृत्युलाई पछ्याउँदै भने पनि जिउन चाहन्छन् ।
ओलिभर ओडोनोभानले हामीलाई स्मरण गराएका छन् कि प्रभु स्वयंको पुनरुत्थानले नै मानिसलाई आदमको जस्तो स्वभावदेखि उद्धार गरिदिन्छः
पवित्र जन पावलले प्रस्तुत गरेअनुसार, पुनरुत्थानको अर्थ यो हो कि योचाहिँ परमेश्वरले आफ्नो सृष्टि अर्थात् आदमको जीवनबारे दिनुभएको अन्तिम र निर्णायक वचन हो । सर्वप्रथम, योचाहिँ आदमले पाप र मृत्युलाई रोजेका घटनालाई परमेश्वरले उल्ट्याउनुहुने कुरा होः ‘जसरी आदममा सबै मर्छन्, उसरी नै ख्रीष्टमा सबै जिउँदो पारिनेछन्’ (१ को. १५:२२) । दोस्रो कुरा, योचाहिँ आदमको मर्ने निर्णयलाई उल्ट्याउने कार्य भएको हुनाले, ख्रीष्टको पुनर्जीवनचाहिँ आदम जिउनुपर्दछ भन्ने परमेश्वरको पहिलो निर्णयको नयाँ पुष्टि हो र यो पुष्टि अझ पर जान्छ र त्यसले जीवनको शुरूको दानलाई रूपान्तरण गरिदिन्छः ‘पहिलो मानिस आदम जीवित प्राणी बन्यो । अन्तिम आदमचाहिँ जीवित पार्नुहुने आत्मा बन्नुभयो’ (१५:४५) । आदमलाई बनाउनुहुने, सबै कुराहरूलाई क्रमवद्ध पार्नुहुने, जसमा मानवताको एउटा स्थान छ, सृष्टिकर्त्ताको कामलाई यो निष्कर्षले एकैपटकमा पुष्टि गर्दछ । हामी भन्न सक्दछौं कि ख्रीष्ट मरेकाहरूबाट पुनर्जीवित हुनुभन्दा पहिला कुनै व्यक्तिले सृष्टि व्यर्थ थियो भनी सोच्न सम्भव हुन्थ्यो होला । यदि सृष्टिले आफैलाई नाश गर्न र आफूसँगै बाँकी सृष्टिलाई पनि नाश गर्न निरन्तर काम गरेको भए, के यसको अर्थ यो थिएन कि परमेश्वरको हातको काम आशाविहिनरूपमा त्रुटिपूर्ण थियो ? ख्रीष्ट मरेकाहरूबाट पुनर्जीवित हुनुभन्दा पहिला पूरा विश्वासका साथ यसरी जवाफ दिन सम्भव हुन्थ्यो होलाः त्यो त्रुटिपूर्ण थियो । परमेश्वरले येशूलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभन्दा पहिला, हामीले ‘तत्वज्ञान’ भन्ने आशा, सृष्टिको छुटकाराको भन्दा पनि सृष्टिबाटको छुटकाराको आशा नै एकमात्र आशा हो जस्तो देखिन सक्दथ्यो । ‘तर अब ख्रीष्ट मरेकाहरूबाट बौराइनुभएको छ …’ (१५:२०) । यो तथ्यले ती अन्य सम्भाव्यताहरूलाई निरर्थक बनाइदिन्छ, किनकि दोस्रो आदममा पहिलोलाई उद्धार गरिन्छ । तिनको इच्छाको झुकाव, मृत्युतर्फको त्यसको दुःखद् झुकावलाई परमेश्वरले सृष्टि गर्नुभएको कुरालाई नाश पार्न अनुमति दिइएको छैन ।[1]Oliver O’Donovan, Resurrection and Moral Order: An Outline for Evangelical Ethics (Grand Rapids: William B. Eerdmans Publishing Company, 1994), 14.
नोट र सन्दर्भहरू
↑1 | Oliver O’Donovan, Resurrection and Moral Order: An Outline for Evangelical Ethics (Grand Rapids: William B. Eerdmans Publishing Company, 1994), 14. |
---|