पछिल्लो अपडेट: मार्च 22, 2023
तस्विर क्रेडिट: Tate Britain
निम्नलिखित लेख The Briefing (द ब्रिफिङ्ग) नामक समाचार तथा विवेचनाको दैनिक पडकाष्टको सन् २०२३ फेब्रूअरी १५ को संस्करणको लिखित रूपको अनुवाद हो, जुन पडकाष्टलाई Dr. Albert Mohler (डा. अल्बर्ट मोहलेर) ले सञ्चालन गर्छन् । उक्त संस्करणको निम्नलिखित खण्डलाई AlbertMohler.com को अनुमति लिएर अनुवाद तथा प्रकाशन गरिएको हो ।
यो लिखित संस्करणमा जोर दिइएका समाचार र तथ्याङ्कले संयुक्त राज्यमा मापन गरिएका प्रचलनहरूलाई जनाउँदछन् भन्ने कुरालार्इ ख्याल गरिनुपर्दछ । तर जहाँसम्म ती कारणहरू नेपालीहरूले अहिले बारम्बार अवलम्बन गर्ने विभिन्न प्रविधिहरू तथा बानीहरूसँग सम्बन्धित हुने कुरा छ, तल दिइएका अध्ययन तथा टिप्पणीहरूले नेपालमा एउटा चेताउनीको रूपमा काम गर्दछन् ।
डा. मोहलेरका टिप्पणीहरू जनवरी ३ को The New York Times (द न्यू योर्क टाइम्स) मा प्रकाशित Ellen Berry (एलेन ब्यारी) को लेखसँग सम्बन्धित छन् जुन लेखको शीर्षक थियो, “Teen Girls Report Record Levels of Sadness, C.D.C. Finds” (अनुवादः सीडीसीका अनुसार, किशोरीहरूले उच्च उदासिताको सामना गर्दछन्) । संयुक्त राज्य अमेरिकाको Centers for Disease Control and Prevention (सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) ले प्रकाशन गरेको तथ्याङ्क यहाँ भेट्टाउन सकिन्छ ।
Dr. Mohler को लिखित संस्करण यस प्रकार छः
एउटा अत्यन्त रोचक, अत्यन्त विचलित पार्ने प्रतिवेदन प्रकाशित भएको छ । मूलधारका सञ्चार माध्यमभरि त्यो मुख्य समाचार भएको छ । हिजोको The New York Times (न्यू योर्क टाइम्स्) मा प्रकाशित मुख्य शीर्षक यो थियो, “Teen Girls Report Record Levels of Sadness” । The Wall Street Journal (द वाल स्ट्रिट जर्नल), Washington Post (वाशिङ्गटन पोष्ट) मा पनि उस्तै मुख्य शीर्षकहरू छन् । सूची हेर्ने हो भने — प्रायः हरेक मुख्य समाचार-पत्रिका, प्रायः हरेक मुख्य समाचार साइटमा एउटा उस्तै मुख्य शीर्षक भएको लेख छ । अनि यो सबैको आधार संयुक्त राज्य सरकारको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले यो हप्ताको सोमबार प्रकाशन गरेको तथ्याङ्कमा जोड्न रहेको छ । अनि हामीले ख्याल गर्नुपर्ने कुराहरूमध्येको एउटाचाहिँ यो हो कि त्यहाँ संख्याहरू उल्लेख गरिएका छन् । उदाहरणको लागि, न्यू योर्क टाइम्स्को रिपोर्टअनुसार, “सन् २०२१ मा पाँचमध्ये लगभग तीनजना किशोरीहरूले अविरल उदासिता महशुस गरे, जुन किशोरहरूको भन्दा दोब्बर दर हो, र तीनजना किशोरीहरूमध्ये एकजनाले आत्महत्याको प्रयास गर्ने गम्भीर विचार लिए ।”
अब प्रष्ट रूपमा नै यस किसिमको समाचारले सबै मानिसहरूको ध्यान तानेको हुनुपर्दछ, अनि विशेष गरी ख्रीष्टियानहरूको, र सायद सबैभन्दा रणनैतिक रूपमा त ख्रीष्टियान अभिभावकहरूको र जवानहरूसँग काम गर्ने ती व्यक्तिहरूको ध्यान तानेको हुनुपर्दछ । ती संख्याहरू अत्यन्त झस्काउने किसिमका छन् । अब, हामी केही बेरमा ती संख्याहरूलाई नजिकबाट नियाल्नेछौं, तर तथ्य यो हो कि यहाँ हामी सहायताको लागि गरिएको एउटा जोडदार याचना पाउँदछौं । अनि, वास्तवमा, यहाँ एउटा अध्ययनलाई प्रतिनिधि बनाएर सामान्यीकरण गरिँदैछ, जुन अध्ययनले भन्दछ कि जवानहरूको माझमा, र विशेष गरी किशोरीहरूको माझमा, सहायताको लागि एउटा जोडदार याचना गरिएको छ ।
तर म एउटा ख्रीष्टियान विश्वदृष्टिकोणबाट भन्न चाहन्छु कि यो लेखलाई तपाईंले हेर्दै गर्नुहुँदा यो हाम्रो समाजभरि व्याप्त कुराजस्तो देखिन्छ । सहयताको लागि गरिएको एउटा जोडदार याचना । मैले उक्त तथ्याङ्कलाई केलाएर हेरेको छु र यो अत्यन्त झस्काउने किसिमको छ । यसलाई व्यक्त गर्ने अर्को तरिका नै छैन । ख्रीष्टियान नैतिक शब्दमा भन्नुपर्दा, हामीले एउटा विपत्तिको सामना गरिरहेका छौं, र यो विपत्ति विकास हुन थालेको केही समय भएको छ । यहाँ ध्यान पुर्याउनुपर्ने एउटा तथ्य यो हो कि हो, यसका संख्याहरू विगतका यस्तै प्रतिवेदनमा उल्लेखितभन्दा धेरै नै उच्च छन्, तर त्यसले यो प्रश्न उब्जाउँदछ, ग्रहणयोग्य तह कुन हो त ? यी रोगहरूको, यस किसिमको निराशा हुने यस किसिमको समस्याको सामान्य तह केलाई मानिनुपर्दछ त ?
अनि थप कुरा, संयुक्त राज्यका किशोरावस्थाकाहरूमा, र विशेष गरी किशोरीहरूमा हुने निराशाका अझ उच्च तहहरू र त्यसको विषयमा गरिने प्रयासहरूप्रति ध्यान दिनुपर्दछ । अनि उक्त तथ्याङ्कको अन्त्यतिर हेर्दा, संख्या अत्यन्त प्रष्ट छ । यस किसिमको समस्या बताउने जवान मानिसहरूमध्ये ८७% जवान महिलाहरू छन् । तिनीहरू किशोरावस्थाका केटीहरू र जवान महिलाहरू हुन्, र ती संख्याहरू अत्यन्त डरलाग्दा छन् । ती हृदयविदारक छन् । तर हामीले यसलाई हेर्नुपर्दछ र पहिलो कुरा, यो ख्याल गर्नुपर्दछ कि योचाहिँ आफैले जानकारी दिएको तथ्याङ्क हो ।
त्यसैले, यो त्यस्तो कुनै कुरा होइन जुन चिकित्सा क्षेत्रका व्यक्तिहरूबाट आएको हो । यो त अमेरिकी जवानहरू आफैले दिएका जानकारीबाट आएको कुरा हो । अब यसले यो कुरालाई कम डरलाग्दो बनाउँदैन । एक अर्थमा त, यसले यो कुरालाई अझ डरलाग्दो बनाइदिन सक्दछ, तर यहाँ केही अत्यन्त महत्वपूर्ण प्रश्नहरू छन् । The Wall Street Journal (द वाल स्ट्रिट जर्नल) को लागि त्यही प्रतिवेदनबारे लेख्ने Sarah Toy (सारा टोय) ले अत्यन्त बुझक्की नैतिक भाषा प्रयोग गर्दै लेख्छिन्, “संयुक्त राज्यका माध्यमिक तहमा अध्ययनरत पाँचजना केटीहरूमध्ये लगभग तीनजनाले सन् २०२१ मा अविरल उदासिता वा निराशा महशुस गरेको जानकारी दिए । त्यो तथ्याङ्क बितेको दशकको भन्दा लगभग ६०% ले बढी हो भनी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको नयाँ अध्ययनले देखायो ।” अर्को अनुच्छेद यस्तो छ, “माध्यमिक तहका केटाहरू र केटीहरू दुवैले मानसिक स्वास्थ्यका चुनौतीहरू भोगेको जानकारी दिए । केटीहरूले त अहिलेसम्मकै उच्च तहको चुनौती भोगेको जानकारी दिए ।” अनि त्यसपछि के सूचीत गरिएको छ भने यौन हिंसा, उदासिता, र आत्महत्याको जोखिम नै । अब तपाईंले त्यो तथ्याङ्कलाई हेरिसक्नुहुँदा, एउटा त्यस्तो केही कुरा बुझ्नुभएको होस् भन्ने म चाहन्छु ।
आधाभन्दा बढी केटीहरूले केही मात्रामा यो समस्या भोगेको जानकारी दिन्छन् भन्ने तथ्यलाई हेर्दा, हामीले अत्यन्त प्रष्ट चेताउनी पाउनुपर्दछ । अनि साँच्चै, लाखौंलाख जवान केटीहरू र जवान महिलाहरूले आफ्नो जीवनमा आशाविहीनताका, आनन्दको कमीका र उदासीका उत्कट अवस्थाहरू आएको, आफैलाई हानि पुर्याउने सोचाइसम्म पुगेको जानकारी दिइरहेका छन् । अब यो कुरालाई हामीले हेर्दै गर्दा, ख्रीष्टियानहरूले सोचविचार गर्नुपर्ने धेरै कुराहरू छन् । एउटा कुरा, हामीले सबैभन्दा आधारभूत प्रश्न सोध्नुपर्दछः हामीले यी जवान मानिसहरूलाई कसरी सहायता गर्ने त ? यो सबैभन्दा जरुरी प्रश्न हो । अनि त्यसपछि दोस्रो कुरा, यो ठीक होइन भन्नको निम्ति यस किसिमको तथ्याङ्कको समस्यालाई हामीले कसरी रोकथाम गर्ने वा त्यसलाई हामीले कसरी हेर्ने ? एउटा समाजको रूपमा हामीले डरलाग्दो गरी गलत भएको कुरालाई सच्च्याउने जिम्मेवारी वहन गर्नुपर्दछ । तर त्यसपछि आउनुहोस् अन्य केही विषयहरूबारे चर्चा गरौं ।
* * *
आउनुहोस्, एउटा अझ लामो अवधि, एउटा अझ वृहत्त परिप्रेक्ष्यलाई हेरौं । त्यसैले, एउटै कुराको निम्ति, किशोरावस्थालाई मात्र हामी लिऔं । अँ, तपाईं भन्नुहोला कि प्राचीन संस्कृतिहरूका किशोरावस्था यस्तो समय थियो जसमा अलिकति तनाव र उचारचढाव हुन्छ । एक अर्थमा, त्योचाहिँ किशोरावस्थाको मनोवैज्ञानिक र भावनात्मक परिभाषा हो । तर हामीले अर्को कुरालाई पनि स्वीकार गर्नुपर्दछ । प्राचीन कालमा, र विशेष गरी प्राचीन ग्रीकहरूमा, वास्तवमा तिनीहरूले नै किशोरावस्था भन्ने शब्द बनाए । तिनीहरूले बाल्यावस्था र वयस्कावस्थाबीच यो संक्रमणकालीन अवधि हुन्छ र शारीरिक तथा भावनात्मक दुवै तरिकाले यसमा उतारचढाव आउँदछ भनी पत्ता लगाए । थप स्वीकार गर्नुपर्ने अर्को कुरा यो हो कि बालबालिकालाई सफलतापूर्वक त्यो संक्रमणकाल पार गराउन हरेक सफल सभ्यताले धेरै नै शक्ति खर्च गर्नुपर्दछ भनी त्यसले बुझेको छ ।
केटीहरू महिला र केटाहरू पुरुष बन्दछन्, शारीरिक रूपमा मात्र होइन, तर सामाजिक रूपमा पनि, र त्यसको लागि मनोवैज्ञानिक रूपमा र भावनात्मक रूपमा पनि । प्रेरित पावलले यसबारे आफ्नो कुरालार्इ आफैले यसरी बताए जतिबेला उनले भने, “जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थें, बालकले झैं बुझ्थें, बालकले झैं सोच्थें; तर जब म एउटा मानिस बनें, तब मैले बालकका कुराहरू छोड़िदिएँ ।”[1]१ कोरिन्थी १३:११ अर्को शब्दमा, रुपान्तरणको एउटा प्रक्रिया हुन्छ र हामीले बुझ्नुपर्दछ कि हरेक समाजमा यो एउटा चुनौतीको विषय हुन्छ । अनि तपाईंले यसलाई हेर्नुहुँदा, अर्को किसिमको पनि एउटा चुनौती छ र यो समग्र प्रक्रियामा पुरूषहरू र महिलाहरूबीच एउटा भिन्नता हुन्छ भनी तपाईंले बुझ्नुपर्दछ । उदाहरणको लागि, यदि तपाईंले प्राचीन इतिहासमा हेर्नुभयो भने, किशोरीहरू र जवान महिलाहरूले दुव्र्यवहार गरेका वा ठूलो अपराध गरेका घटना लगभग कुनै पनि प्राचीन संस्कृतिमा छैन । अहँ, त्यो काम त किशोरहरूले र जवान मानिसहरूले पो गर्न पुगेका छन् ।
* * *
तर जब भावनात्मक कमजोरीको कुरा आउँदछ र जब तपाईंले यस किसिमको भावनात्मक हानिको कुरामा नियालिरहनुभएको हुँदछ, यो अनुपात कदापि मिल्दैन । सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले प्रकाशन गरेको तथ्याङ्कले हामीलाई अति जरुरी रूपमा बताउँदछ कि यहाँ नयाँ भएको यो कुराले प्राचीन ग्रीकहरूलाई त्यति विचलित पारेको थिएन र त्यसैले, यो अर्थमा मानौं पाँच वर्ष अगाडि यो विषयलाई वास्ता गरिएको थिएन । यी रोगहरूमा र यी जोखिमहरूमा एउटा अत्यन्त महत्वपूर्ण वृद्धि भएको छ । सन् २०११ देखि अहिले २०२१/२०२२ को प्रतिवेदनलाई नियाल्दासमेत ठूलो वृद्धि भएको देखिन्छ । त्यसैले, आउनुहोस् यो प्रश्न सोधौंः यो समस्याको तहमा ठूलो वृद्धि भएको प्रतिवेदनलाई नियाल्दा — उदासिताको यो तहलाई प्रस्तुत गरिएको देख्दा — के यसको कारणचाहिँ शोक र समस्याको यति साह्रै वृद्धि हुनु नै हो त ?
अथवा के यसको कारणचाहिँ धेरै मानिसहरू (र यो अवस्थामा विशेष गरी धेरै जवान महिलाहरू र जवान केटीहरू) यसो भन्न तयार हुनु होः होइन, यो कुराले मलाई असर पारिरहेको छ, दुःख दिइरहेको छ ? अब, योचाहिँ ती दुई कुराहरूको संयोगजस्तो हुन्छ, जसरी कुनै सामाजिक वैज्ञानिकले हामीलाई बताउनेछन् । तर हामीले थाहा पाएका एउटा कुरा यो हो कि यो जस्तो कुराको अध्ययन गरिँदा, कुनै सर्वेक्षणको कुनै एउटा कुराले मात्र हामीलाई किशोर जवान मानिसहरूको जानकारी दिने होइन । वास्तवमा एउटा सर्वेक्षणले पो समग्र देशको जानकारीको कुनै अंश हामीलाई दिन्छ । यो तथ्याङ्कले नयाँ प्रश्नहरू, नयाँ विषयहरू र नयाँ समस्याहरू पनि प्रकट गराउँदछ, यो अर्थमा कि जब यसले जवान मानिसहरूको बारेमा बताउँदछ जस्तो कुराहरू पहिला अस्तित्वमा थिएनन् । एउटा कुरा, हामीले एलजीबीटीक्यू (LGBTQ) पहिचान र यसको ठूलो वृद्धिको बारेमा कुरा गरिरहेका छौं र (विशेष गरी) अन्य लिङ्गका र लिङ्ग परिवर्तन गरेका जवानहरूलाई हेरिरहेका छौं ।
अनि यस लेखले हामीलाई यो बताउँदछ कि उदासितामा, भावनात्मक समस्यामा, र अविरल निराशाको र आफैप्रति हिंसा गर्ने जोखिमको अर्थमा पनि वृद्धि भएको छ जुन एलजीबीटीक्यू जवानहरूमाझ पाइन्छ । अनि लिङ्ग परिवर्तन गर्ने वा अन्य लिङ्गका भनी पहिचान दिनेहरूको माझमा प्रष्ट रूपमा नै एउटा विशेष संघर्ष छ । त्यसले पनि एउटा भिन्दै विषय उठाउँदछ । हामीले यो नमुनालाई हेरिरहेका हुनाले, हामी ख्रीष्टियानहरू ठूलो सहानुभूति र ठूलो फिक्रीका साथ बोल्नुपर्दछ किनभने यो सबै देखेर हाम्रो हृदय टुक्रिएको छ, तर हामी वास्तवमै सहायता गर्न चाहन्छौं । अनि प्रश्न यो छः हामीले कसरी सहायता गर्न सक्दछौं त ? कसरी समग्रमा एउटा समाजले, कसरी अभिभावकहरूले, कसरी जवान मानिसहरूलाई प्रेम गर्नेहरूले वास्तवमै यो समस्याको समाधानमा योगदान पुर्याउन सक्दछन् त ? अनि म तपाईंलाई बताउन चाहन्छु यसमा एउटा कुरा जानाजानी लुकाइएको छ । त्यसलार्इ (यो लेखमा) सोधिएको छैन, यसलाई सम्बोधन गरिएको छैनः हालैका वर्षहरूमा भएका प्राविधिक र अझ महत्वपूर्ण गरी नैतिक क्रान्तिहरूले जवान मानिसहरूको माझमा तनावलाई आमूल रूपमा बढाएका, निराशालाई आमूल रूपमा बढाएका, समस्या बढाएका छन् कि छैनन् ?
* * *
अब, केही अत्यन्त रोचक कुराहरू । अभिभावकहरूले यसप्रति अत्यन्त ध्यान दिनुहोस् । स्मार्टफोन आएको सन् २०१२ देखि मात्र हो र सन् २०१२ मा अधिकांश किशोरावस्थाकाहरू र जवान मानिसहरूसँग त्यो थिएन । अब, हिसाब गर्नुहोस् त । हामीले १० वर्षको मात्र, एक दशक बितेर एघारौं वर्षको कुरा गरिरहेका छौं । यसरी हेर्दा, हामीले यो कुरा स्वीकार गर्नुपर्दछ कि मानसिक चिकित्सकहरू र सीडीसीका अधिकारीहरूले यो कुरा स्वीकार गरिरहेका छन् कि त्यहाँ एउटा अन्तरसम्बन्ध छ । अब, फेरि, तिनीहरूले कारणबारे कुरा गर्न चाहँदैनन्, तर यहाँनेर एउटा नैतिक रूपमा इमानदारी कुरा भनौं । स्मार्टफोनको प्रयोग र विशेष गरी अहिले भएको व्यापक तथा प्रायः यातनादायी सामाजिक सञ्जालको वृद्धिबीच कारणको साथसाथै अन्तरसम्बन्ध पनि छ भनी हामी बुझ्दछौं । यसले हामीले यहाँ कुरा गरिरहेको ठूलो समस्यातिर डोर्याउँदछ । अब, म अत्यन्त प्रष्ट हुन चाहन्छु । यसले भन्दैन कि अविरल निराशा र भावनात्मक स्वास्थका फिक्रीहरू केटीहरूमा सीमित छन्, र यी किशोरावस्थाका वर्षहरूमा ती कुराहरू केटाहरूमाझ छैनन् ।
हामीले त्यसो भनिरहेका छैनौं । हामीले दुईवटा कुराहरू भनिरहेका छौं । यहाँ उल्लेखित संख्याहरू र प्रतिशतहरू कुनै पनि हालतमा समान छैनन् । जवान पुरुषहरूभन्दा धेरै बढी जवान महिलाहरूले यो कुरा दर्शाइरहेका छन् । अनि अर्को एउटा कुरा यो हो, र योचाहिँ मुख्य शीर्षकहरूको मुख्य आशय हो, कि यस्ता किसिमका समस्याहरूको जानकारी दिने व्यक्तिहरूमा भएको आमूल वृद्धि पुरुषहरूमा भन्दा महिलाहरूमा बढी भएको सम्भावना छ । अब, तपाईंले यसलाई हेर्नुहुँदा, फेरि, मानव समाजभरि बाल्यावस्थादेखि वयस्कावस्थामा सर्दा सदैव एउटा समस्या अहिआएको छ । प्रायः केटाहरूमाझ अति धेरै शक्तिको दुरूपयोग भएको देखिएको छ र केटीहरू तथा जवान महिलाहरूमा अति धेरै भावनात्मक कमजोरीका समस्याहरू देखिएका छन् । अब, The Wall Street Journal मा Sarah Toy ले लेखेको लेखमा यो रोचक कुरा पाइन्छ कि उनले यो कुरा सीडीसीको तथ्याङ्कबाट निकाल्दछिन्ः “मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार, विशेष गरी केटीहरू चिन्ता र निराशाप्रति कमजोर हुन्छन् र केटाहरूले भन्दा केटीहरूले बढी दुर्व्यवहार र भेदभाव भोग्दछन् । उनीहरूले पेशागत दबावहरू, सुन्दरताका उच्च स्तरहरू र मातृत्वको अपेक्षाको पनि सामना गर्दछन् ।”
अब, यी कुनै पनि कुराहरू ती तथ्याङ्कहरूसँग सम्बन्धित छैनन् भनेर मैले भनिरहेको छैनँ । मैले भनिरहेको कुरा यो हो कि स्मार्टफोनमा हेर्दा, सामाजिक सञ्जालको वृद्धिलाई हेर्दा र महिलाका अद्वित्तीय कमजोरीहरू मूल्याङ्कनसँग, स्वाभिमानसँग र आफ्नो प्रतिष्ठासँग, शरीरको रूपसँग सम्बन्धित हुन्छन् भन्ने तथ्यलाई हेर्दा, यी कुराहरूले केटाहरू र जवान पुरुषहरूलाई पनि असर पार्दछन् । केवल अनुपातमा फरक पर्दछ । कुनै पनि इमानदार व्यक्तिले यो तथ्याङ्कलाई हेर्न सक्दछ र यो खण्डन गर्नै नसकिने हुन्छ भन्ने मलाई लाग्दछ । यहाँ उठाइएका विषयहरू, यहाँ उठाइएका समस्याहरू, यहाँ उठाइएको विपत्ति किशोरावस्थाका जनसंख्याभरि समान रूपमा व्याप्त छैनन् । त्यसैकारण The Wall Street Journal मा यो शीर्षक राखिएको छ, “किशोरीहरूले उच्च उदासिता भोगेको कुरा प्रकट गर्दछन् ।”
फेरि, The New York Times, “Teen Girls Report Record Levels of Sadness.” (अनुवादः किशोरीहरूले उच्च उदासिताको जानकारी दिन्छन् ।) अति रोचक, USA Today (यूएसए टूडे) मा लगभग उस्तै शीर्षक पाइन्छ, “Teen Girls Report Sadness.” (अनुवादः किशोरीहरूले उदासीको जानकारी दिन्छन् ।) तर हामीले यो कुरा ख्याल गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ कि महिलाहरू — किशोरी महिलाहरू — लाई मात्र जोखिममा परेका भनिएको छैन । अनि म संख्याहरूको कुरा गर्न चाहँदिनँ, तर ती अत्याउने किसिमका छन् । यहाँ उल्लेखित तहमा र प्रतिशतहरूमा किशोरावस्थाका जवानहरूले — र यो अवस्थामा किशोरीहरू र जवान महिलाहरूले — उदासिता भोग्दछन् भनेर विश्वास गर्न अत्यन्त कठिन हुन्छ । तर पनि, ख्रीष्टियानहरूको रूपमा यति भनौं कि हामी यो कुरालाई गम्भीर रूपमा लिन नैतिक रूपमा वाध्य छौं ।
नोट र सन्दर्भहरू
↑1 | १ कोरिन्थी १३:११ |
---|