पछिल्लो अपडेट: फेब्रुअरी 8, 2023
तस्विर क्रेडिट: bonnellart.com
पवित्रशास्त्रले हामीलाई दुईवटा शब्दहरूको सम्बन्धबारे छोटकरीमा सोचविचार गर्ने मौका दिन्छ जुन शब्दहरू कहिलेकाहीँ त्यसका पृष्ठहरूमा अत्यन्त नजिक हुन्छन्ः अधिकार र शक्ति । यी शब्दहरू एकअर्काका यति पूरक हुन्छन् कि कहिलेकाहीँ तिनलाई पर्यायवाचीको रूपमा प्रयोग गरिन्छ; तर पनि ती भिन्न छन् । वास्तवमा यो कुरा शब्दकोशमा सत्य हुन्छ, तर तिनको मूलभूत भिन्नतालाई लूका २०:२० जस्तो स्थानमा पनि पुष्टि हुन्छ, जहाँ मुख्य पूजाहारीले येशूलाई रोमी राज्यपालका शासन (शक्ति) र अधिकार, दुवैप्रति सुम्पिन खोज्दछन् । त्यहाँ, ती दुई शब्दहरू राजकीय शासनसँग आपसमा सम्बन्धित हुन्छन् । तब के कुरामा ती भिन्न हुन्छन् त ?
* * *
यसबारे सोचविचार गर्दा, एकजना कुटनीतिज्ञले विदेशको राजधानी र त्यसका राजालाई भेट गरेका कुराको सजिलैसँग कल्पना गर्न सकिन्छ । ती कुटनीतिज्ञलाई तिनका राजाले शुरुमै पूर्ण ओहोदा प्रदान गरेर एउटा काममा पठाएका हुन्छन् । यो दृश्यमा, अधिकार र शासन (शक्ति) तिनीहरूको विचारमा लगभग उस्तै देखिन्छन्; तर त्यो अर्थ यस्तो नयाँ अवस्थामा तुरुन्तै हराउँदछ जहाँ ती राजदूतले अन्ततः आफ्नो मुख्य कर्त्तव्य पूरा गर्न सक्दैनन् । त्यो अवस्थामा, तिनीसँग अझै पनि तिनका राजाले दिएकै अधिकार हुन्छ, र तिनले अझै पनि आफ्नो लक्ष्य हासिल गर्ने चाहना लिइराख्छन् । तथापि, तिनीसँग पर्याप्त शक्ति हुँदैन — तिनको लक्ष्य हासिल गर्ने सामान्य क्षमता पनि तिनीसँग हुँदैन । त्यसपछि विकल्पहरूको बारेमा सोचविचार गरिन्छः गठबन्धनहरू बनाइन्छन्, सम्झौता गर्न शुरू हुन्छ । यस संसारका राज्यहरू यस्तै हुन्छन् ।
अनि, कुनै राजदूतले एउटा राज्यको जिम्मेवारी र इच्छा दुवै एकै समयमा धारण गर्दाखेरि के हुन्छ — आधुनिक शब्दमा भन्नुपर्दा, ‘महाशक्ति’ धारण गर्दाखेरि के हुन्छ ? यो अवस्थामा, अधिकार र शक्ति ती राजदूतको सफल काममा अझ बलियो गरी जोडिन्छन् । तब यस्तो राज्यका यस्ता राजाले कुनै राजदूत नै नपठाउँदा, तर त्यसको सट्टामा आफ्नै नाममा र आफ्नै शक्तिअनुसार सम्झौताहरू गर्न खोज्दा के हुन्छ होला ? तब तिनी आफै साहसका साथ त्यो विदेशी राजधानीमा जान्छन् र आफ्नो इच्छा पूरा गर्दै सम्झौताहरू गर्दछन् । त्यो अवस्थामा, सार्वभौमिकतामा आँच पुर्याउने र अल्झाउने गठबन्धनहरू हुँदैनन् । न ता विजयको लुटका मालहरू — महिमा र धनहरू — लाई कुटनीतिज्ञहरू र कर्मचारीहरूको माझमा बाँडिनु नै पर्दछ । एक्लो विजेताले नै धेरै लुटको मालसामान पाउँदछ ।
* * *
एक अर्थमा यो कुरा हामी येशू ख्रीष्टको देह धारणमा देख्दछौं । प्रभु स्वयं यस्तो स्थानभित्र प्रवेश गर्नुहुन्छ जहाँ उहाँको शक्ति र शासन विवादमा पारिन्छन् । अन्ततः उहाँले मानिसहरूलाई सिकाउन थाल्नुहुन्छ; उहाँले रोगीहरूलाई निको पनि पार्नुहुन्छ — प्रायः दुष्ट आत्माहरूलाई धपाउनुहुन्छ, जुनचाहिँ कहिलेकाहीँ विभिन्न रोगहरू निम्त्याउने कारण बन्दछन् । उहाँलाई देख्ने सबैले उहाँको सामर्थ्यलाई जान्दछन् । तर तिनीहरूको लागि सबैभन्दा छक्क लाग्दो र टाउको दुःखाइको कुराचाहिँ येशूले प्रतिनिधित्व गर्नुहुने अर्कै अधिकारको प्रमाण हो ।
मर्कूसद्वारा लिखित सुसमाचारको पहिलो अध्यायले यही कुरा बुझाउँदछ । सभाघरहरूमा, येशूको शिक्षण शैली त्यसको विषयवस्तु जत्तिकै अचम्मलाग्दो थियो । उहाँले रब्बीका अधिकारहरूलाई दर्शाउन अस्वीकार गर्नुभयो, र यसको माने के हो भन्ने कुरा उहाँका श्रोताहरूले बुझे । त्यो विषयको बारेमा उहाँको मौनता चर्को थियोः येशूले अधिकारसहित बोल्नुभयो, तर शास्त्रीहरूले जसरी होइन (मर्कूस १:२२) । उहाँले अन्य साना अधिकारहरूमाथि भर पर्न अस्वीकार गर्नुभएर आफैमा यो अधिकार लिनुभएको थियो । मर्कूसले त्यसपछि येशूले तिनीहरूका सभाघरमा एकजना मानिसबाट एउटा अशुद्ध आत्मा धपाउनुभएको घटना उल्लेख गर्दा, निष्कर्षचाहिँ त्यही नै थियो । यो कुनै किसिमको नयाँ शिक्षा थियो जसले एउटा भिन्दै किसिमको सामर्थ्य (शक्ति) र अधिकार प्रदर्शन गरिदियो । त्यसकारण येशू एउटा भिन्दै अधिकार हुनुहुन्थ्यो (मर्कूस १:२७) । वास्तवमा यो एउटा छक्क पार्ने अवस्था थियोः तिनीहरूका माझमा यहाँ एकजना मानिस हुनुहुन्थ्यो जोसँग आफ्नै अधिकारद्वारा अलौकिक शक्तिहरू थिए र जसले तिनलाई चलाउनुभयो । प्रष्ट रूपमा नै, परमेश्वरको राज्य नजिकै थियो (मर्कूस १:१५) ।
* * *
परमेश्वरको अधिकार र शक्ति कसरी परमेश्वरका पुत्रमा एकीकृत भएका छन् भनी हामीले बुझ्ने बेलामा नै हामीले उहाँको राज्यको चरित्रबारे उत्तम तरिकाले सोचविचार गर्दछौं । त्यसको चरित्र पूर्ण रूपमा नयाँ हुन्छ, तर पनि अनन्त प्रभुबाट आएको र स्थापना गरिएको हुन्छ । मर्कूसद्वारा लिखित सुसमाचारले पाठकको सामु अधिकार र शक्तिको परिप्रेक्ष्य प्रस्तुत मात्र गर्दैन, तर ती तत्वहरूलाई येशूका वचनहरू तथा कामहरूसँग — शिक्षा र चङ्गाइसँग — पनि जोडिदिन्छ भन्ने थप कुरा देख्दा, हामीले यो थप कुरा बुझ्दछौं कि परमेश्वरले, ख्रीष्टमा, कुनै नयाँ कुरा सृष्टि गरिरहनुभएको थियो । आखिर, परमेश्वरले वचनहरूले (वचन र कामले) स्वर्ग र पृथ्वी बनाउनुहुँदा पहिलो सृष्टिको शुरुवात भयो । अनि वचनले मानवरूप धारण गर्नुभएसँगै एउटा नयाँ सृष्टिको शुरुवात हुन्छ (कलस्सी १:१२-१७; २ कोरिन्थी ५:१७) ।
यो अवधारणा येशू स्वयंको मृत्यु तथा बौरिउठाइ माथि आधारित तुल्याइएको र त्यसपछि उहाँको स्वर्गारोहणले सिद्ध पारिएको थियो भनी हामीले स्मरण गर्दा, त्यो पूर्ण रूपमा वृद्धि हुन्छ । प्रभु येशू जीवित हुनका लागि मात्र बौरिउठ्नुभएको थिएन, तर राज्य गर्नका निम्ति पनि थियो । यस संसारका शासकहरूले यही कुरालाई बुझेका भए, तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने थिएनन् (१ कोरिन्थी २:८) । यही कुरा नै पावलले कोरिन्थीका विश्वासीहरूलाई लेख्दछन् र व्याख्या गरिदिन्छन् । प्रभुले सबैभन्दा असम्भव देखिने शर्तहरू प्रस्तुत गर्नुभएर आफ्नो कर्त्तव्य पूरा गर्नुभयो । यस पृथ्वीका राजाहरूले आफ्नो सार्वभौमिकता कायम राख्नको लागि लडाइँ गर्दछन् र काटमार गर्दछन् — यस वर्तमान संसारको स्वभाव यस्तै नै छ । तै पनि, प्रभु येशू ख्रीष्टले मरेकाहरूबाट बौरिउठ्नुभन्दा पहिला मृत्यु भोग्नुभयो । उहाँले विजय पाउनको लागि आफ्नै मृत्युलाई प्रयोग गर्नुभयो । त्यसैकारण, अहिले येशू महिमाका प्रभु हुनुहुन्छ । त्यसैले १ कोरिन्थी २:७ मा पावलले यो तथ्यलाई त्यसको अप्रत्याशित परिणामसँगै कसरी प्रस्तुत गर्दछन् भनी हामी पढ्न पाउँदछौंः प्रभुले विश्वासीको महिमाको लागि पनि यो काम पूरा गर्नुभयो । प्रष्ट रूपमा नै, केही लूटका मालहरूलाई अनुग्रहको सिद्धान्तअनुसार बाँडिदिइन्छ । परमेश्वरको राज्य यस्तै हुन्छ ।