पछिल्लो अपडेट: अप्रिल 28, 2023
तस्विर क्रेडिट: The Morgan Library and Museum, New York
मेरो यो लेख Touchstone: A Journal of Mere Christianity को जनवरी-फ्ब्रूअरी २०२१ संस्करणमा सर्वप्रथम छापिएको थियो । यसलाई अनुमति लिएर यहाँ प्रकाशन गरिएको छ । यो लिङ्कले तपाईंलाई उक्त पत्रिकामा प्रकाशित लेखमा पुर्याउँदछ । साथै, यो अर्को लिङ्कले तपाईंलाई यो नेपाली अनुवादको पूर्ण अंग्रेजी लेखमा लैजान्छ।
सबै ठाउँका आनन्दवादीहरू होशियार हुनुपर्दछ । आखिर, अभिलाषा त्यही हो जस्तो त्यो सदैव भइआएको छ । आनन्द प्राप्त गर्दा पनि, अभिलाषा असन्तुष्ट नै रहन्छ र त्यसले सन्तोष दिँदैन । यसले कसैलाई पनि छक्क पार्नेछैन, तर यसले कतिपयलाई भने बिझाउँछ जस्तो देखिन्छ । अन्यथा, अभिलाषालाई प्रेम भनेर उचाल्न वा तिनका परिणामहरूलाई मिसाइदिन उस्तो हतार हुँदैनथ्यो ।
यो कुरालाई विचार गर्नुहोस् । सन् २०१७ मा न्यू योर्क राज्यले यो आदेश दियो कि बीमा कम्पनीहरूले कुनै पनि व्यक्तिका बाँझोपनका उपचारहरूको खर्च बेहोरून्, चाहे उक्त व्यक्तिको वैवाहिक अवस्था वा यौन व्यवहारहरू जस्तासुकै होऊन् । उक्त राज्यले बीमा कम्पनीहरूलाई प्राकृतिकरूपमा गर्भधारण गर्न खोजेका महिलाहरूका बाँझोपनका उपचारहरूको खर्च बेहोर्न आदेश दिइसकेको थियो । नयाँ आदेशले अविवाहित तथा समलिंगीहरूलाई पनि त्यो सुविधा दिलाइदियो । न्यू योर्कको प्रशासनले “प्रजनन छनोटहरू” को संरक्षण गर्ने प्रयास गरेको भनिए पनि, यो कुरा प्रष्ट छ कि पहिला नभएको “छनोट” सिर्जना गरेकोमा त्यो सबैभन्दा खुशी थियो ।
तब केही समलिंगीहरू आफ्ना शरीरहरूका प्रष्ट, अटल जीवविज्ञानको बारेमा यति अलमलिएका र बेखुशी देखिन्छन् कि अब तिनीहरूले महशुस गरेका घनिष्ठताको परिणाम अर्थात् सन्तान पाउनुपर्ने कुरालाई जोर दिन्छन्, यद्यपि प्रकृतिले त्यसो हुन दिँदैन । तर अभिलाषा र प्रेम एउटै कुरा होइनन् । तीमध्ये एउटाका परिणामहरू अर्कोलाई दिन सकिँदैन, चाहे यसलाई स्वीकार गरियोस् या नगरियोस् । वास्तवमा यो कुरा युगौं पहिला नै समाधान गरिएको थियोः पवित्रशास्त्र र प्राकृतिक क्रमले अत्यन्त प्रष्टरूपमा बताउँदछन्, तर त्यसले अभियन्ताहरू तथा कर्मचारीहरूलाई जीवविज्ञानको विरुद्धमा ठूलो विवाद गर्नदेखि रोकेको छैन । त्यसको मुख्य कारण यो हो कि पुरुषहरू र महिलाहरूले परमेश्वरसँग झगडा गरिरहेका छन् ।
यदि समलिंगीहरूसँग कुनै तर्क छ भने पनि त्योचाहिँ मूलभूतरूपमा र अपरिहार्यरूपमा सम्वेदनाको विषयमात्र हो । तर कतिपय समलिंगीहरूले प्रेम भन्ने सम्वेदना मायालु र चिरस्थायी हुन्छ कि हुँदैन भन्ने प्रश्न सान्दर्भिक प्रश्न होइन । बरु, तिनीहरूले स्वीकार गर्ने र व्यवहारमा उतार्ने सम्वेदनाहरू एक पुरुष र एक स्त्रीबीचको घनिष्ठता स्वाभाविकरूपमा र साधारणरूपमा व्यक्त हुने तरिकासँग अर्थात् एउटा बच्चाको गर्भाधान हुने तरिकासँग कहिल्यै मेल खान्छन् कि खाँदैनन् भनेर सोध्नु उचित हुन्छ । त्यो प्रश्नको प्रष्ट जवाफ यो हुन्छः ती मेल खाँदैनन् । तर फेरि, घनिष्ठता प्रष्टरूपमा नै त्यो होइन, जुन त्यो हुने गर्दथ्यो । त्यसैले न्यू योर्कले (जसलाई अन्य राज्यहरूले पछ्याउन सक्लान्) यौनपापका पुरस्कारहरू बाँडिरहेको हामी पाउँदछौं ।
वास्तवमा, अविवाहित विपरीतलिंगी जोडीहरूले पनि बारम्बार सम्वेदनासम्बन्धी त्यही तर्क प्रयोग गर्दछन् — र त्यही पनि समलिंगीका जीवविज्ञानगत अप्ठ्याराहरू नहुँदा समेत । पश्चिमी संसारमा, पहिलाभन्दा कम मात्रामा विवाहहरू हुन्छन्, जबकि विवाह नगरीकन सँगै बस्ने काम र अश्लिल सामग्रीको प्रयोग बढिरहेको छ । अर्को शब्दमा, अमेरिकीहरू यौनरूपमा निष्क्रिय छैनन्, विकृतमात्र भएका छन् । अमेरिकी विपरीतलिंगीहरूले प्राकृतिकरूपमा सन्तान जन्माउँदछन्, तर तिनीहरूले त्यस्तो काम धेरैजसो वैवाहिक सम्बन्धभन्दा बाहिर नै गर्दछन् ।
साँचो घनिष्ठता जारी रहन्छ ।
यसले हामीलाई प्रष्टसँग भन्न लगाउँदछ किः बच्चा प्राकृतिकरूपमा गर्भाधान हुनको लागि विवाहको करार आवश्यक छैन । तैपनि यसको आशय यो होइन कि गर्भाधानको प्राकृतिक तथा साधारण तरिकाले सदैव खुशी बच्चा उत्पन्न गराउँदछ । वास्तवमा, यो कुरा प्रष्ट छ कि त्यस्तो हुँदैन । अविवाहित विपरीतलिंगीहरूले जन्माउने बालबालिकाको सङ्ख्या र यस्ता जोडीहरूले हुर्काउने बालबालिकाको सङ्ख्या नियमितरूपमा बढिरहेको भए पनि, यसका दुःखद् परिणामहरू धेरैवटा अध्ययनहरूमा देखिएका छन् । तर प्रष्ट विडम्बना यो हो कि विपरीतलिंगीहरूमाझ अति व्याप्त यो पापले यस्तो संसार उत्पन्न गराएको छ जहाँ समलिंगीपनलाई साधारण भनी बढ्दो मात्रामा स्वीकार गरिन्छ ।
अनि यसले मलाई मेरो मुख्य फिक्रीको विषयमा पुर्याउँदछ किः एक पुरुष र एक स्त्री — एक पति र उसकी पत्नी — बीचको अबिरल घनिष्ठतामा यस्तो कुरा हुन्छ जुन गर्भाधानको क्षणमा हुने शारीरिक कुरासँग मात्र होइन, तर त्यसपछि बच्चालाई हुर्काएर वयस्क बनाउने कामसँग पनि सम्वद्ध हुन्छ । तब त्यो बच्चा आफ्ना जीवविज्ञानगत अभिभावकहरूबाट उसले पाउने संसारमा जिउँदछ ।
के अभिलाषा र घनिष्ठताबीच वास्तविक भिन्नता हुन्छ ? प्रेमीहरूको अनिश्चित, हिचकिचाउने बुझाइहरूभन्दा बाहेक ? वास्तवमा, त्यहाँ भिन्नता छ, तर त्यो सम्वेदनाको भिन्नता होइन । बरु, यो त वास्तविक शक्तिको भिन्नता हो । तिनीहरूको गहनता, जोश जस्तासुकै भए पनि, तिनले मात्र तिनीहरूले आशा गरेका वा गर्न सक्छु भनेर ढोंग गरेका कुरा कहिल्यै पनि उत्पन्न गराउन सक्दैन, किनकि त्यहाँ जीवविज्ञानको विषय रहिरहन्छ । तर हामीले घनिष्ठतालाई अझ एउटा थप नापद्वारा उत्कृष्ट तरिकाले बुझ्न सक्दछौं । एक पुरुष र उसकी श्रीमतीले गर्भाधान गर्दछन् र त्यसपछि बच्चालाई सँगै हुर्काउँछन् । यसरी तिनीहरूले बच्चाको स्याहारसुसार गर्ने कामको अपेक्षा गर्न, उक्त काम गर्न र उक्त काम पूरा गर्न सक्दछन् ।
यो कुरा साँचो हो कि धेरै अविवाहित मानिसहरूले बच्चाहरू जन्माइरहेका छन्, तर फेरि पनि, परिवारहरू पहिलाको जस्ता छैनन् । समलिंगीहरूले बच्चा हुर्काउने प्रयास त गर्लान्, तर त्यो कहिल्यै पनि तिनीहरू आफैले जन्माएको बच्चा हुँदैन । अनि विपरीतलिंगीहरूले प्राकृतिकरूपमा बच्चा जन्माए तापनि, यसको अर्थ तिनीहरूले उसलाई उचितरूपमा हुर्काउनेछन् भन्ने हुँदैन ।
त्यसैले, घनिष्ठतालाई एक पति र उसकी पत्नीका प्रेमभावहरूमा मात्र झार्न सकिँदैन, किनकि त्योभन्दा अगाडि एउटा करार आउँदछ र त्यसको परिणाम अझ ठूलो कुरा हुन्छ । वास्तवमा, एउटा विवाहित जोडीको आपसी सामान्य आनन्दले साधारणरूपमा बच्चाको गर्भाधान गराउँदछ, तर त्यो कार्य उक्त बच्चालाई हुर्काएर वयस्क बनाउने उचित पालनपोषणमा जारी रहन्छ । म यसो भन्न चाहन्छुः बच्चा हुर्काउने कार्य पति र पत्नीबीचका अबिरल तथा विभिन्न किसिमका घनिष्ठताहरूमाथि थोरै मात्रामा भर पर्दछ । अमेरिकीहरू नीतिगतरूपमा आपसमा असहमत हुनेछन्, तर समलिंगी “विवाह” विरुद्धको ख्रीष्टियन तर्क एउटा सांस्कृतिक झगडामात्र होइन । यो सबैको पछाडि एउटा कुरा हुन्छ जसले महत्वपूर्ण हुने नैतिक सिद्धान्तहरू र सांस्कृतिक विषयहरूलाई पनि उछिन्दछ । यौन नैतिकताहरूलाई खोक्रा अस्थायी प्रश्नहरूमा झारिँदा, तिनीहरूको अनन्त महत्वलाई लत्याइने मात्र होइन, अझ डरलाग्दो कुरा त, त्यसलाई बिर्सिइन्छ ।
हन्नाको बाँझोपन
आउनुहोस्, शमूएलको पहिलो पुस्तकको शुरूमा रहेको वर्णनलाई हेरौं । यो वर्णनमा तीनजना व्यक्तिहरू छन्ः एल्काना नाम गरेका लेवी र तिनका दुईजना श्रीमतीहरू, हन्ना र पेनिन्ना । एल्काना र पेनिन्नालाई मुख्यतया तिनीहरूको कामद्वारा जनाइएको छ — एल्काना भक्त छन् र मन्दिरमा जान्छन्, जबकि पनिन्ना आफ्ना सन्तानसँग व्यस्त छिन् जो उनले एल्कानाबाट पाएकी हुन् । तर हन्नालाई भने उनले गर्न नसक्ने कामद्वारा जनाइएको छः बच्चा जन्माउन नसक्ने । उनी बाँझोपनले चिनिन्छिन् ।
स्वाभाविकरूपमा, पाठकले हन्नाप्रति बढी सहानुभूति जनाउँदछ । उनी आफ्नो अवस्थाको कारण अत्यन्त दुःखित छिन् । उनको जस्तो निराशाले नघेरिएका पाठकहरूले पनि यो दुःखलाई केही मात्रामा महशुस गर्दछन् । हन्नाले बच्चा पाउन सकूँ भनेर रुँदै प्रार्थना गर्दछिन् । उनलाई खुशी तुल्याउने उनका पतिका प्रयासहरू कमजोर र व्यर्थ हुन्छन् । त्यति नै बेला पनिन्नाले हन्नालाई उनको बाँझोपनको बारेमा निरन्तर गिल्ला गर्दछिन् । यहाँ, उक्त वर्णनका धेरैवटा विडम्बनाहरूमध्ये पहिलोचाहिँ प्रष्ट बन्दछः एल्काना र पनिन्नालाई पहिला तिनीहरूले गर्न सक्ने कामहरूले जनाइएको थियो । अहिले तिनीहरूलाई तिनीहरूले गर्न नसक्ने कामले पनि जनाइएको छ — हन्नालाई उनको अवस्थामा सहायता गर्न नसक्नु ।
यसरी लेखिएको छ कि यो अवस्था “वर्षैपिच्छे” जारी रहन्छ । हामी अझै पढ्न पाउँदछौं कि परमेश्वरले नै हन्नाको कोख बन्द गर्नुभएको छ । अनि त्यसैले, पाठकको मनमा नाना किसिमका कुराहरू उत्पन्न हुन सक्दछन् — जस्तै, परमेश्वर निष्पक्ष हुनुहुन्छ । यदि हामीले यो सोच्दछौं भने हाम्रा सम्वेदनाहरूले निश्चय नै आफैलाई पुष्टि गर्न शुरू गर्नेछन् । आखिर, हन्नाले सामान्य आशिष् पाएकी थिइनन् । अरूका धेरै सन्तान थिए, तर उनको भने एकजना पनि थिएन । आफ्ना सन्तानलाई मूर्तिहरू र आगोमा चढाउनेहरूलाई समेत सन्तान दिइएको थियो, र अझै दिइएको थियो; तर हन्नाको कुनै सन्तान थिएन ।
ती कठिन वर्षहरू थिए । परमेश्वरको इच्छा निश्चितरूपमा कठोर देखियो । हन्नाले आफ्नो वेदना र कटुताको विरुद्धमा सङ्घर्ष गर्दाखेरि एउटा आशिषको निम्ति पनि सङ्घर्ष गर्नुपर्यो । यी सङ्घर्षहरूमा, पेनिन्नाचाहिँ हन्नाको असल चाहनाको विरुद्धमा एउटा शत्रुको रूपमा सदैव उपस्थित थिइन् ।
अर्को विडम्बना यो होः हन्नाकी शत्रु, पेनिन्नाले हन्नाको कोख बन्द गरिदिएकी थिइनन्, तर परमप्रभुले गर्नुभएको कामको कारण उनको विरोधमात्र गरेकी थिइन् । महत्वपूर्ण कुरा, हन्नाले भिन्दै तरिकाले प्रतिक्रिया जनाउन सक्दथिन् । उनले आफ्नी शत्रुको विरुद्धमा प्रत्यक्षरूपमा सङ्घर्ष गर्न सक्दथिन्, तर उनले त्यसो गरेको कुनै प्रमाण छैन । बरु, उनले प्रार्थनामा नै समय बिताउने र परमप्रभुको सामु एउटा वाचा गर्ने निर्णय गरिन् । त्यसैले उनी कटनीको बेलामा पनि शीलोमा गइन् जबकि उनी निसन्तान नै थिइन् । अनि तब र त्यहीँ नै उनको वर्णन अर्कोसँग ठोक्किन्छ ।
मेलबलिको भ्रष्टता
हन्नाको वर्णन अगाडि बढेको बेलामा, अर्को वर्णन पृष्ठभूमिमा जारी रहेको छ र अब अगाडि देखिन्छ । प्रष्टरूपमा नै इस्राएल विश्वासत्यागको अवधिमा छः यहूदीहरूलाई तिनीहरूले स्वाभाविकरूपमा भरोसा गरेका, तिनीहरूकै पूजाहारीहरूद्वारा धोका दिइएको छ । बलिदानहरू चढाइने तरिकाको वर्णनद्वारा पाठकले यो कुरा देख्दछ । मोशाको व्यवस्थाअनुसार मानिसहरूले आफ्ना भेटीहरू त्यति बेला शीलोमा रहेको भेट हुने पालमा लैजानुपर्ने भए तापनि, जहाँ पूजाहारीहरूले तिनलाई तोकिएको तरिकाले विभाजन गर्नुपर्दथ्यो, ती पूजाहारीहरूले बलिदानहरूलाई पूर्णरूपमा आफैले लिएका हामी देख्दछौं (१ शमूएल २:१२-१७) ।
यसले हामीलाई एउटा महत्वपूर्ण कुरामा पुर्याउँदछः भेटीका प्रकारहरू धेरै भए तापनि, एउटामात्र भेटीमा त्यो भेटी चढाउने व्यक्तिलाई उक्त बलिदानबाट खान अनुमति दिइन्थ्यो । त्योचाहिँ मेलबलि थियो र यहाँ त्यही बलिलाई उल्लेख गरिएको जस्तो देखिन्छ । उक्त मेलबलिलाई तीन भागहरूमा विभाजन गर्नुपर्दथ्योः बोसोलाई परमप्रभुको निम्ति जलाइन्थ्यो, दोस्रो भाग पूजाहारीलाई दिइन्थ्यो र तेस्रो भागचाहिँ त्यो भेटी ल्याउनेलाई दिइन्थ्यो । अन्य किसिमका भेटीहरूका नियमहरूले यो सिफारिश गर्दथे कि ती भागहरू परमप्रभुलाई वा पूजाहारीहरूलाई दिनुपर्दथ्यो, तर मेलबलिमा मात्र त्यो भेटी ल्याउनेलाई तुरुन्तै खुशी पार्ने यो थप प्रबन्ध थियो, किनकि यसले उसलाई उसले नै चढाएको भेटीबाट खान अनुमति दिन्थ्यो । यस प्रकारले, मेलबलिले परमेश्वर र मानिसबीच सम्भव हुने र लक्षित घनिष्ठतालाई उचितरूपमा जनाउँदथ्यो ।
तर शीलोका पूजाहारीहरूले जोर दिए कि सम्पूर्ण बलिदान तिनीहरूलाई नै दिइनुपर्दथ्यो । १ शमूएलमा दिइएको वर्णनबाट पाठकले यो कुरा पत्ता लगाउँदछ कि ती पूजाहारीहरूले मानिसहरूबाट भेटीहरू चोर्दथे र त्यसैकारण मानिसहरूले पूजाहारीलाई घृणामात्र गर्दैनथे, तर परमेश्वरले सिफारिश गर्नुभएको त्यो भेटीलाई पनि घृणा गर्दथे । तिनीहरूको आनन्दको लागि लक्षित कुराले अब तिनीहरूमा क्रोध र अन्ततः अविश्वास उत्पन्न गरायो । यस प्रकारले, पूजाहारीहरूको अभिलाषा र लालचले परमेश्वर र मानिसबीचको शत्रुतालाई कम गराउनुको विपरीत बढाइदिए । हन्ना आफ्नो बाँझोपनमा निराश छिन्, र यहूदीहरू तिनीहरूको आत्मिक खोक्रोपनाको कारणले दिग्भ्रमित छन् । हामी तिनीहरू सबैप्रति सहानुभूति देखाउँदछौं — सारांशहरू असहज हुने गरी समान छन् ।
यहाँनेर नै मेलबलिको विचार अत्यन्त महत्वपूर्ण बन्दछ । यो भेटीले परमेश्वर र मानिस दुवैलाई आपसी र एकसाथ हुने आनन्द प्रदान गर्नुपर्दथ्यो, र एक पक्षको लागि मात्र होइन । परमेश्वरलाई सन्तुष्ट पार्ने त्यो भेटीले मानिसको लागि पनि सन्तुष्टि प्रदान गर्नुपर्दथ्यो । कम्तिमा पनि जहाँसम्म यो भेटीको सवाल थियो, मानिसले परमेश्वरलाई चढाउन सक्ने यस्तो कुनै पनि कुरा थिएन जुन उहाँले केही मात्रामा त्यो मानिसको आनन्दको लागि पहिला नै नजुटाउनुभएको होस् । परमेश्वर र मानिसले एउटै बलिदानद्वारा खुशी पाए ।
दुष्ट पूजाहारीहरू होप्नी र पीनहासले परमप्रभुलाई जान्दैनथे, त्यसैले तिनीहरूले आफ्नै अभिलाषा तृप्त पार्नको लागि मानिसहरूबाट लुकाएका कुराप्रति थोरैमात्र आदर गर्दथे । तिनीहरूले त्यो भेटी आफैले राख्दथे, तर त्यसपछि धेरै बढी गुमाउँदथे । किनकि त्यो भेटी आफैले राख्दाखेरि, तिनीहरूले ती मानिसहरूले पाउने परमेश्वरको आशिष् रोकिदिन्थे जसलाई परमेश्वरले त्यो दिन चाहनुहुन्थ्यो । अनि परमेश्वरको भलाइलाई चाख्ने मौकाबाट मानिसहरूलाई बञ्चित पार्दाखेरि, तिनीहरूले परमेश्वरको निम्ति पनि त्यो कुरा रोकिदिन्थे जुन उहाँले अझै पनि मानिसहरूबाट खोज्नुहुन्छः परमेश्वरले तिनीहरूलाई दिनुभएका कुरालाई तिनीहरूले थाहा पाउँदा, ग्रहण गर्दा र त्यसमा आनन्द मनाउँदा तिनीहरूले गुञ्जाउने प्रशंसाहरू रोकिन्थे ।
हन्नाको मेलबलि
यहाँनेर ती दुई वर्णनहरू मिसिन्छन् । हामीले हन्नाको बाँझोपनसम्बन्धी तथ्यलाई सजिलै बुझ्दछौं, तर किन परमेश्वरले नै, कम्तिमा पनि केही समयको लागि, उनलाई सन्तान दिनुभएन भनी बुझ्न बढी कठिन हुन्छ । (हन्नाले पनि परमेश्वरको लामो मौनताको बारेमा सोचेकी हुनुपर्दछ, तर निश्चितरूपमा परमेश्वर आफ्ना जनहरूको मौनता देखेर सोचमग्न हुनुभएको थियो ।) धेरै वर्षसम्म, हन्नाले बच्चाको प्रतीक्षा गरिन् र एउटा पनि बच्चा भएन । उनले आदर खोजिन् — सबै आमाहरूले पाउनुपर्ने किसिमको आदर, तर त्यसको विपरीत घृणा पाइन् । उनले बच्चा पाऊँ भनी प्रार्थना गरिन्, तर उनी बाँझी नै भइरहिन् । तर के उनले भन्दा लामो समयसम्म परमप्रभुले आदरको प्रतीक्षा गर्नुभएको थिएन र ? के उहाँले इस्राएलका प्रार्थनाहरू र प्रशंसाको लामो समयसम्म आशा गर्नुभएको थिएन र मौनतामात्र सुन्नुभयो — एउटा जातिका गनगनहरू सुन्नुभयो जसले भ्रष्ट पूजाहारीपदको कारण परमप्रभुलाई चढाइने बलिदानलाई अहिले घृणा गर्दथे ?
हन्नाले आफ्नो बाँझोपनद्वारा एउटा कुरा सिकिन् जसको बारेमा परमेश्वर पहिला नै जान्नुहुन्थ्योः पाउन सक्नुभन्दा पहिला दिनुपर्दछ । तर उनले यो पनि सिकिन् कि पहिला मानिससँग दिने वास्तविक क्षमता हुनुपर्दछ, चाहनामात्र होइन । अनि त्यो दिने क्षमता पहिला परमेश्वरले हामीलाई दिनुहुन्छ । हन्नाले परमेश्वरलाई फिर्ता दिन सक्नुभन्दा पहिला, उनले उहाँबाट पाउनुपर्दथ्यो । अनि परमेश्वरले हन्नाबाट पाउनुभन्दा पहिला उहाँले उनलाई दिनुपर्दथ्यो । त्यसैले परमेश्वरले अन्ततः हन्नालाई एउटा छोरा दिनुभयो, र त्यसपछि उनले त्यो छोरा परमप्रभुलाई दिइन् । अनि परमप्रभुले त्यो छोरालाई आफ्ना जनहरूको सेवामा चलाउनुभयो, जसपछि ती मानिसहरूले आफ्ना परमेश्वरको प्रशंसा गरे ।
हन्नाले व्याकुलतापूर्वक चाहना गरेको बच्चा अन्ततः उनलाई दिइँदाखेरि, उनले उसको नाम शमूएल राखिन् । उनले प्रार्थनामा त्यो बच्चा खोजेकी थिइन्, तर त्यसपछि उनले त्यही बच्चालाई उसले शीलोको भेट हुने पालमा गर्न सक्ने जुनसुकै सेवाको निम्ति अर्पण गर्ने प्रतिज्ञा गरिन् । त्यसैले अन्त्यमा यस्तो देखिन्छ कि एक अर्थमा, हन्नाले आफ्नो चाहनामा मेलबलिको प्रतिज्ञा गरिन्, जतिबेला अन्य पुरुषहरूले दिग्भ्रमित भएर परमप्रभुलाई मेलबलिहरू चढाएका थिएनन्, या त तिनीहरूसँग पहिलादेखि नै भएको कुरा दिन अस्वीकार गरेर या परमेश्वरले नदिनुभएको कुरा लिएर ।
शमूएल हुर्किँदै जाँदा, तिनले परमप्रभु र मानिसहरू दुवैको शुभेच्छा पाए । तिनले अन्ततः शीलोमा उचित आराधना पुनर्स्थापना गरे र फेरि इस्राएलीहरू आफ्ना परमेश्वरमा रमाए । हन्नाले एउटा छोरा पाइन्, र त्यसपछि त्यो छोरा परमेश्वरलाई दिइन्, तर तिनलाई वर्षैपिच्छे पनि भेटिन् (तिनको भाग) । अनि परमप्रभुले आफ्ना जनहरूका प्रशंसाहरू पाउनुभयो — अनि यो सबैको कारण हन्नाले परमेश्वरसँग गरेकी एउटा वाचा थियो । परमेश्वर र मानिसहरूले एउटै भेटीमा आनन्द मनाए । शमूएल त्यो माध्यम बने जसद्वारा परमेश्वर र मानिसहरूले फेरि आपसमा आनन्द मनाए । साँचो र महत्वपूर्ण घनिष्ठताले सबै कुरा गराएको जस्तो देखिन्छ ।
परमेश्वरको रचना पुष्टि भयो
गर्भाधान जीवविज्ञानमाथि आधारित हुन्छ, तर के जीवनचाहिँ जीवविज्ञानको तरिकाले मात्र उत्पन्न हुनुपर्दछ ? त्यो त जनावरहरूको माझमा मात्र हुन्छ । व्यक्तिहरूबीचको घनिष्ठताले भरोसाको प्रभाव र समापन दुवैलाई आदर गर्दछ, र त्यसको शुरूआतलाई मात्र होइन । त्यसैकारण घनिष्ठताले सुत्ने कोठामा गर्भाधान गर्ने कुरालाई त्यसले अर्को व्यक्ति अर्थात् बच्चाद्वारा बाहिरी संसारमा ल्याइदिन सक्दछ । एक पति र उसकी पत्नीको आपसी आनन्दले सामान्यरूपमा गर्भाधानमा पुर्याउँदछ र त्यसपछि त्यो बच्चाको पालनपोषणमा पुरयाउँदछ, चाहे कमजोररूपमा नै किन नहोस् । दुःखको कुरा, केही दम्पत्तिहरूले बच्चा गर्भमा लिन नसक्नुको शोक भोग्दछन्, तर हामी बच्चाहरू भएका सबैले यो पनि जान्दछौं कि हामीले इच्छा गरेका तरिकाले तिनीहरूलाई सदैव एकैनासले हुर्काएका छैनौं । यसको कारणचाहिँ हामीले आफैभित्र र आफैमाझ पाउने कमजोरी हो । यो हाम्रा आफ्नै पापहरू र कमजोरीहरूको समस्या हो जुन अरूसँगका हाम्रा बाहिरी सम्बन्धहरूमा पनि हुन्छ ।
तैपनि, यो कुरालाई स्वीकार गर्नु भनेको तिनीहरूको सामु झुक्नु होइन, जसले यही विषयलाई सम्वेदनाका र आत्मगत आधारहरूमा लिन्छन् । यसले परमेश्वरको रचनामा रहेको समस्यालाई सम्बोधन गर्दैन, तर बरु उहाँको मौलिक रचनालाई र उहाँले क्रूसद्वारा कसरी त्यसलाई विश्वासीहरूको माझमा नवीकरण गर्नुभएको छ भन्ने कुरालाई पुष्टि पो गर्दछ । ख्रीष्टियन सुसमाचार प्रष्ट छः पहिला नयाँ जन्म पाइन्छ । तर त्यही नै अन्त्य होइन । त्यसले त पवित्र आत्माद्वारा परमेश्वरसँगको घनिष्ठतालाई शुरूमात्र गराउँदछ । अनि परमेश्वरले दिनुभएको यो घनिष्ठताले पूर्णरूपमा काम गर्नुपर्दछ ।
यी भिन्नताहरू सम्वेदनाको चिच्च्याहटभन्दा चर्को गरी बोल्दछन् । केही सम्बन्धहरूले केही पनि परिणाम उत्पन्न गराउँदैनन्, किनभने तिनले त्यसो गर्न सम्भव हुँदैन, तर यो कुरा पनि साँचो हो कि कतिपय सम्बन्धहरूले अन्यले भन्दा उत्तम फल फलाउँदछन् । तिनको शुरूआतको साथमा आउने प्रत्यक्ष आनन्दभन्दा कुनै ठूलो कुरामा ती सामान्यतया टुङ्गिन्छन् । वास्तवमा, एउटा बच्चाले आफ्ना बुबाआमाको प्रत्यक्ष आनन्दलाई भविष्यसम्म तन्काइदिन्छ, परमेश्वरको प्रेमसम्म र अन्य मानिसहरूप्रतिको सेवासम्म पनि ।
उत्तम मेलबलि
घनिष्ठता सदैव जस्तो भइआएको छ त्यस्तो पूर्णरूपमा नभएसम्म, त्यो पहिलाको जस्तो हुँदैन । अनि हामी कतिपयले त्यो ठीक त्यही नै हो भनी विश्वास र स्वीकार गर्दछौं । आखिर, सम्वेदना एक्लैले मानिसलाई मुक्ति दिएको होइन, तर ख्रीष्टको मानवरूप-धारणको लागि एक किसिमको घनिष्ठता आवश्यक परेको थियो । त्यसपछि परमेश्वर र मानिसहरूबीचको घनिष्ठता पछि गएर ती सबैको लागि उपलब्ध गराइयो जसले सुसमाचारलाई विश्वास गर्दछन् । त्यसको एउटा माध्यम येशूको आफ्नै मृत्यु र पुनर्जीवनका प्रभावहरू हुन् । अनि त्यसैले, एक अर्थमा, येशू — परमेश्वरका एकमात्र जन्माइएका पुत्र — उत्तम मेलबलि हुनुहुन्थ्यो । परमेश्वरले मानिसहरूबाट फेरि प्रशंसा र आदर पाउन सक्नुभन्दा पहिला, उहाँले मानिसको लागि आफ्ना पुत्र दिनुपर्यो । विश्वासीहरूले परमेश्वरको सित्तैंको मुक्ति पाउँदछन्, र परमेश्वरले मानिसको प्रशंसा पाउनुहुन्छ — सबै येशू ख्रीष्टको एउटै बलिदानद्वारा ।
केही कट्टरवादीहरूले यौन, प्रजनन क्षमता र परिवारको विषयमा खास गरी संस्कृतिलाई पुनस्र्थापना गर्ने अर्थमा विवाद गरेका छन्, तर हामी कतिपय यो कुरामा निश्चित छौं कि लक्ष्यचाहिँ त्योभन्दा धेरै बढी व्यापक छ । केही अविश्वासीहरू सदैव यसो भन्न तयार भएका हुन्छन् कि येशू यौनपापबाट जन्मिनुभएको थियो (यूहन्ना ८:४१), जबकि अरूले चाहिँ उहाँ जीवित परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गरेका छन् । उहाँ विशेष गरी आफ्नै शक्ति र परिणाममा ती दुवै हुन सक्नुहुन्न ।