पछिल्लो अपडेट: फ्रेवुअरी 8, 2023
तस्विर क्रेडिट: RAH
येशूले परमेश्वरको अनुग्रही चरित्रलाई व्याख्या गर्ने मौकाको सदुपयोग गर्नुहुँदा, उहाँले प्रकृतिका सबैभन्दा सरल रूपहरूलाई प्रयोग गर्नुभयोः परमेश्वरले “दुष्ट र असल दुवैमाथि आफ्नो सूर्य उदय गराउनुहुन्छ, अनि धर्मी र अधर्मी दुवैमाथि झरी बर्साउनुहुन्छ” (मत्ती ५:४५)। तब हामी भन्न सक्दछौं कि परमेश्वरका स्वभावहरूले उहाँको दयाको निष्पक्ष प्रदर्शनलाई समावेश गर्दछन्, जसलाई यहाँ घाम र वर्षाका नियमित र फरक दानहरूमा व्यक्त गरिएको छ । हामीले यो भावनालाई सजिलै बुझ्दछौं, अझ बढी त हामी जमिनसँग नजिक रहेर जिउँदाखेरि हामीले बुझ्दछौं ।
अवश्य नै, घामचाहिँ वर्षा होइन, र वर्षाचाहिँ घाम होइन । अब जीवनसँग जोडिने आशिषहरू वास्तवमा ती दुईबीचको सन्तुलनमाथि आधारित हुन्छन्। एउटा रूखलाई सजाउने पातहरू खडेरीमा सुक्नेछन् तर झरी र बाढीमा भने ती डुब्नेछन् । तर जमिन र त्यसको फसलले मात्र सन्तुलन खोज्दैनन् । यदि हामीले या घाम या वर्षा मात्र पायौं भने हामीले चाँडै नै अर्कोलाई सम्झनेछौं र हामीसँग भएको चाहिँलाई तिरस्कार गर्नेछौं । तिनको उचित सन्तुलनले बारीको फललाई पकाउने मात्र होइन, तर मानिसका चिन्ताहरूलाई पनि शान्त पार्दछ, अनि समयलाई निर्दिष्ट तथा प्रशंसनीय लयहरूले भरिदिन्छ। आजको आशा भविष्यसम्म तन्किन्छ किनभने यसको जरा हिजोको सम्झनामा गाडिएको हुन्छ । यसले स्वस्फूर्त रूपमा लयहरूको सम्झनामा भोलिको अपेक्षा गर्दछ ।
तर हामी यो पनि जान्दछौं कि यी लयहरूका दुर्भाग्यपूर्ण र फलहीन सीमाहरू हुन्छन् । ती त भोलिहरूको घट्दो संख्यातिर बढीभन्दा बढी झुक्दछन् । हामीले अन्ततः यो निष्कर्ष मात्र निकाल्दछौं कि दिनहरू बित्दै जाँदा हाम्रो समय पनि घटिरहेको हुन्छ र त्यसकारण बितिजाने हरेक दिनले हामीलाई हाम्रो आफ्नै समयको संकेत दिइरहेको हामीले महशुस गर्न थाल्दछौं । तब हाम्रो लागि समयचाहिँ हामीले गर्ने कामको निर्दिष्ट अवधिभन्दा बढी बन्दछ । साथै पूरा नगरिने कामको बारेमा डरलाग्दो मनन पनि गरिन्छः काम पूरा नगर्नु, मानिसहरूलाई नभेट्नु, परमेश्वरको अनुग्रहलाई स्वीकार नगर्नु । सायद, यी र अन्य असफलताहरूलाई शुरूमा त अभिप्रायहरू भन्ने ठानिन्छ र सम्झिइन्छ, तर चाँडै नै ती निराशाहरू र लाज — पछुतोहरू — को रूपमा विवेकमा फेरि आउँदछन् ।
तब पछुतोले हाम्रो भविष्यको आशाको विरुद्धमा विगतबाट फेरि दोष लगाउँदछ । यो मानव हृदयदेखि बारम्बार उत्पन्न हुन्छ, र त्यसैले हामीले कुराहरूको कुनै अर्को क्रमको माग गर्दछौं, प्रहार गर्ने कुनै कुराको माग गर्दछौं जसले सम्झना गरिने समयको वक्ररेखालाई सम्याएर फेरि सीधा रेखा बनाइदिन्छ र यसलाई भविष्यसम्म केही मात्रामा तन्काइदिन्छ — जसले हाम्रो दिमागमा घुमिरहने मूर्खतापूर्ण चक्रहरूलाई टुङ्ग्याइदिन्छ । यो सबै कुरामा, हामी अझै पनि हाम्रो समयको अन्त्यतिर अगाडि बढिरहेका हुन्छौं, र हामी यो कुरा अति राम्रोसँग जान्दछौं । हरेक नयाँ दिन हाम्रो विवेकमाथि ढ्याङ्ग्रो बजाएझैं खस्दछ । तब हामीले खोज्ने सन्तुलन समय र त्यसका मौसमहरूमा मात्र पाउन सकिँदैन । लयलाई त्यसको धुन चाहिन्छ र समयले अनन्तताको माग गर्दछ ।