पछिल्लो अपडेट: मार्च 22, 2023
तस्विर क्रेडिट: Rijksmuseum, Netherlands
तल दिइएको लेख Dr. Albert Mohler ले सञ्चालन गर्नुहुने समाचार तथा विवेचनाको दैनिक पोडकाष्ट The Briefing को सन् २०२३, जनवरी ६ को संस्करणको अनुवाद हो । उक्त संस्करणको निम्नलिखित अंशलाई AlbertMohler.com को अनुमतिले अनुवाद गरिएको र पोष्ट गरिएको छ ।
Dr. Mohler का टिप्पणीहरू जनवरी ३ मा The New York Times मा छापिएको Ellen Barry को यो शीर्षक भएको लेखसँग सम्बन्धित छन्ः “Social Media Use Is Linked to Brain Changes in Teens, Research Finds.”
डा. मोहलेरको पोडकाष्टको लिखित संस्करण यस्तो छः
कहिलेकाहीँ एउटा वैज्ञानिक अध्ययन बाहिर आउँदछ, एउटा शैक्षिक अध्ययनलाई प्रकाशित गरिन्छ र तपाईं भन्नुहुन्छ, “मलाई लाग्छ मलाई त्यो कुरा पहिल्यै थाहा थियो, तर यसको अभिलेख बनाएर राख्नु उपयोगी हुन्छ ।” The New York Times (द न्यू योर्क टाइम्स्) मा “Social Media Use Is Linked to Brain Changes in Teens, Research Finds.” [1]अर्थ: “नयाँ अध्ययनले देखाएअनुसार, सामाजिक सञ्जालको प्रयोगले किशोरावस्थाकाहरूको दिमागमा परिवर्तनहरू गराउँदछ” शीर्षकमा छापिएको एउटा अध्ययनमा धेरै अभिभावकहरूले रुची देखाउनुहुन्छ होला । हो, उक्त लेख अत्यन्त स्पष्ट छ । यसले नर्थ क्यारोलिना विश्वविद्यालयमा स्नायूवैज्ञानिकहरूले गरेका अनुसन्धानलाई हेर्दछ र ती वैज्ञानिकहरूले माध्यमिक तहमा अध्ययन गर्ने १२ देखि १५ वर्षका किशोरावस्थाकाहरूका दिमागका स्क्यानहरूलाई प्रयोग गर्दछन् ।
अनि तपाईंलाई थाहै थिएन कि झैं गरी, उक्त पत्रिका भन्दछ, (यी वर्षहरू) “विशेष रूपमा तीव्र दिमाग विकास हुने एउटा अवधि” हुन् ।” त्यसपछि हामीलाई भनिन्छ, “अनुसन्धानकर्त्ताहरूले पत्ता लगाए कि नियमित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्ने १२ वर्षका बालबालिका आफ्ना साथीहरूका सामाजिक पुरस्कारहरूप्रति बढी संवेदनशील हुँदै गएका थिए । सामाजिक सञ्जाल कम प्रयोग गर्ने किशोरावस्थाकाहरू भने विपरीत दिशातिर लागेका र तिनीहरूले सामाजिक पुरस्कारहरूमा कम रुची लिएका पाइयो ।”
अब, यो कुरा माध्यमिक तहका विद्यार्थीहरूमा मात्र नभइ सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक व्यक्तिमा लागू हुन्छ । यसले ठूलो विकृतिको क्षेत्र उत्पन्न गराउँदछ र हामीलाई त्यो थाहा छ । कम्तिमा पनि वयस्कहरूले त्यो कुरा अति राम्रोसँग जान्दछन् । तर हामीले बुझ्नुपर्ने एउटा कुरा यो हो कि दिमाग — मानवीय दिमाग — परिवर्तन हुन्छ । अनि यस्तो किसिमको लेखमा तपाईंले नदेख्नुहुने, साथीहरूको बारेमा गरिने वैज्ञानिक अनुसन्धानमा तपाईंले नदेख्नुहुने एउटा कुरा यही हो, तर यो कुरा तपाईंले बाइबलमा भने पाउनुहुनेछ । बाइबलले अत्यन्त प्रष्ट रूपमा बताउँदछ कि हाम्रा दिमागहरू, हाम्रो बौद्धिकता, हाम्रो सोच्ने शैली, वास्तवमा यी सबै कुराहरू तह-तह हुँदै विकास हुन्छन् ।
प्रेरित पावलले भने कि तिनी बालक छँदा, तिनले एक बालकले जसरी सोच्दथे, तर अहिले त तिनी वयस्क भएका छन् । हामीलाई यो पनि भनिएको छ कि येशू बुद्धिमा, र डिलडौलमा र परमेश्वर तथा मानिसको अनुग्रहमा बढ्नुभयो । त्यसैले मानवरूप धारण गर्ने र बालकको रूपमा जन्मिने ख्रीष्टको नम्रताका पक्षहरूमध्ये एउटा यो हो कि उहाँले यी विकासका तहहरू पनि अनुभव गर्नुभयो । येशू त्यस डुँडमा एक वयस्कको रूपमा (जन्मनुभएको) थिएन । उहाँ एक बालक हुनुहुन्थ्यो । त्यसले त्यो असीमित प्रेमतर्फ औंल्याउँदछ जसले येशू ख्रीष्टलाई क्रूसमा मात्र नभइ कोक्रोमा पनि पुर्यायो ।
यो लेख ख्रीष्टियानहरूको लागि पनि महत्वपूर्ण छ, किनकि हामीले बाइबलीय विश्व-दृष्टिकोणअनुसार, सामाजिक प्रतिफलहरूको क्षेत्रमा सोच्दछौं, र योचाहिँ यस्तो कुनै कुरा हो जसमा हामी सबैले अति होशियारीसाथ विचार गर्नु आवश्यक छ । अब, यो नयाँ कुरा होइन । सामाजिक प्रतिफलहरू मानव समाजजत्तिकै पुराना हुन् । यसको अर्थ यो आदम र हव्वाको पालासम्मै पुग्दछ, तर विशेष गरी यो आदम र हव्वा, अनि पतनपश्चात् तिनका सबै सन्ततिहरूसम्म पुग्दछ । हामी सामाजिक प्राणीहरू हौं । परमेश्वरले हामीलाई त्यस प्रकारले बनाउनुभयो ।
अब, अरू जनावरहरू पनि सामाजिक हुन्छन् । यसबारे एकै क्षण सोच्नुहोस् त । तपाईंले अरू जनावरहरूलाई हेर्नुहुँदा, अत्यन्त सामाजिक व्यवहार प्रायः देख्नुहुन्छ । सिंहनी र उसका डमरूहरूलाई हेर्दा, चराहरूको एउटा बथानलाई हेर्दा, कमिलाहरूको ताँतीलाई हेर्दा, तपाईंले त्यहाँ सामाजिक व्यवहार देखिरहनुभएको हुँदछ, तर तपाईंले स्व-सचेत सामाजिक व्यवहार भने देख्नुहुन्न । त्यहाँ कुनै सिंह समाजशास्त्रीहरू हुँदैनन् । अहिलेसम्म हामीलाई थाहा भएअनुसार, त्यहाँ कुनै कमिला मनोचिकित्सकहरू छैनन् । तिनलाई तिनीहरू चाहिँदैनन् भनेर भनिरहनुपर्दैन ।
तर हामी परमेश्वरको स्वरूपमा बनाइएका सचेत प्राणीहरू हौं । यसको अर्थ यो हो कि हामीले सोच्ने मात्र होइन, तर हामी सोच्ने बारेमा पनि सोच्दछौं । हामी सामाजिक मात्र छैनौं, तर हामीले सामाजिक हुनुको बारेमा पनि सोच्न सक्दछौं । हामीले सामाजिक व्यवहारका प्रतिफलहरूको बारेमा सोच्न सक्दछौं । हामीले सामाजिक प्राणीहरू हुनुका मूल्यहरू र कमजोरीहरूको बारेमा सोच्न सक्दछौं । सामाजिक प्रतिफलहरूको वर्ग भन्नुको अर्थ यो हो कि सामाजिक प्राणीहरूको रूपमा हामी अरूले हाम्रो बारेमा सोच्ने कुराप्रति र हामीलाई प्रदान गरिने प्रतिफलहरूप्रति अत्यन्त संवेदनशील हुन्छौं । कहिलेकाहीँ, सामाजिक सञ्जालमा एउटा लाइक पाइयो भने हामी त्यसमाथि अति निर्भर बन्दछौं, र ख्रीष्टियान विश्वदृष्टिकोणले हामीलाई त्यस किसिमको निर्भरताको विरुद्धमा चेताउनी दिनुपर्दछ ।
ख्रीष्टियान विश्वदृष्टिकोणले हामीलाई गैर-सामाजिक व्यवहारको विरुद्धमा चेताउनी दिनुपर्दछ । हामी सामाजिक भएर परमेश्वरको महिमा गर्नको लागि बनाइएका हौं । तर हामीले यो पनि बुझ्नुपर्दछ कि यो पतित संसारमा, हाम्रो समाजले प्रायः ती प्रतिफलहरू प्रदान गर्नेछ जुन प्रतिफल प्राप्त गर्नुपर्ने कुराको आधारमा हुँदैनन् । अनि मलाई लाग्दछ, हामीले दुईवटा विशेष कमजोरीहरूलाई बुझ्नुपर्दछ, एउटा पुरानो, र एउटा अति नयाँ । पुरानो र प्रबल कमजोरी किशोरावस्था हो । जीवनको त्यो महत्वपूर्ण अवधिमा, एक जवान व्यक्ति शारीरिक रूपमा मात्र नभइ बौद्धिक रूपमा पनि विकास भइरहेको हुन्छन् । यो एउटा बाइबलीय सत्यता पनि हो, जसको कारण पवित्रशास्त्रमा विशेष गरी जीवनको यो तहमा जवान मानिसहरूलाई अगुवाइ गर्नुतर्फ अति धेरै ध्यान दिन भनिएको पाइन्छ । त्यस अवधिमा, किशोरावस्थाका चिन्हहरूमध्ये एउटाचाहिँ हामीले खाली सोच्नु मात्र होइन, तर हामीले सोच्ने बारेमा पनि सोच्न सक्दछौं । अनि यसले अन्तर्मुखी बनाइदिन्छ । यसले विभिन्न किसिमका कुराहरूमा पुर्याउँदछ, जसमध्ये एउटाको बारेमा हरेक पुस्ताका अभिभावकहरू चिन्तित हुन्छन्, र त्यो हो — साथीको दबाव । पाँच वर्षको बच्चा पनि सामाजिक प्राणी भएको हुनाले, त्यो सामाजिकीकरणका सीमाहरू हुन्छन् ।
तर जब तपाईं १२, १३, १४, १५ वर्षको हुनुहुन्छ, जब तपाईं त्यो संसारभित्र प्रवेश गर्नुहुन्छ, त्यसलार्इ अति-सामाजिक बनाइन्छ, अनि त्यसले विभिन्न किसिमका जोखिमहरू उत्पन्न गराउँदछ । अनि अभिभावकले गर्नुपर्ने आवश्यक कदम भनेको किशोरावस्थाकाहरूलार्इ त्यस्तो अति-सामाजिक अवस्थाबाट सुरक्षित राख्न हो । प्रायः हरेक पुस्ता त्यसप्रकारको साथीको दबावजस्तो कुराको बारेमा चासो राख्ने खालको हुँदै आएको छ, किनभने जीवनको त्यो शुरुको तहमा हुने अति-सामाजिकीकरणले सही कुराहरूको लागि होइन, तर सबै गलत कुराहरूको लागि सामाजिक प्रतिफलहरू प्रायः प्रदान गर्दछ, र यो अत्यन्त धूर्त पनि हुन सक्दछ ।
तर दोस्रो विकासचाहिँ नयाँ हो, र त्यो हो सामाजिक प्रविधि र सामाजिक सञ्जाल हो, किनभने डिजिटल क्रान्तीले सामाजिक सञ्जालको साथमा उच्च रूपमा उत्प्रेरित हुने अति-सामाजिकीकरणका विभिन्न अवसरहरू पनि ल्याइदियो । त्यो कार्य सार्वजनिक रूपमा, अरूको अगाडि मात्र हुँदैन, तर त्यसले त कम्तिमा पनि अरूले हाम्रो बारेमा के सोचिरहका होलान् भनी हामीले सोच्ने कुरालाई चौबीसै घण्टा सुपरिवेक्षण गर्न पनि हामीलाई सक्षम तुल्याउँदछ । अब, ख्रीष्टियान अभिभावकहरू, ख्रीष्टियान चर्च अगुवाहरू र जवानहरूको बारेमा फिक्री गर्नेहरूले बुझ्नुपर्दछ कि योचाहिँ जवान मानिसहरूको लागि एउटा विशेष समस्या हो । यो लेख किशोरावस्थाकाहरूका दिमागमा सामाजिक सञ्जालले पार्ने खतराको बारेमा हो । अनि यी परीक्षणहरू कसरी गरिएका छन् भनी हामीलाई प्रष्ट रूपमा बताइएको छ ।
यहाँनेर दिमागका स्क्यानहरूको प्रयोग रोचक छ किनभने दिमागका स्क्यानहरू विषयगत हुँदैनन् । ती त मुख्यतः वस्तुगत हुन्छन्, कम्तिमा पनि त्यसको स्क्यान गरिएको भागचाहिँ वस्तुगत हुन्छ । त्यसैले, यो अवधिमा दिमागमा हुने परिवर्तनहरूलाई वैज्ञानिकहरूले वास्तविक रूपमा देख्न सक्दछन् । यहाँ तपाईंले एउटा अन्तरज्ञान पाउनुहुन्छ । एकजना अनुसन्धानकर्ताले भने, “सामाजिक सञ्जाल प्रयोग गर्दै हुर्किने किशोरावस्थाकाहरू आफ्ना साथीहरूले दिने प्रतिक्रियाहरूप्रति प्रायः अति नै संवेदनशील भइरहेका छन् ।” म स्पष्ट रूपमा भन्न चाहन्छु, यदि तपाईंलाई यो कुरा यो अध्ययनभन्दा पहिला थाहा थिएन भने मलाई लाग्दछ हामी ठूलो समस्यामा छौं । तर यो कुरा रोचक छ कि यस किसिमको अध्ययन एउटा समाचार बन्दछ । यो लेख द न्यू योर्क टाइम्स् मा एउटा मुख्य समाचार बन्यो । यसले त दैनिक संस्करणको एक चौथाइ पृष्ठ नै ओगट्यो ।
त्यसैले यसलाई हेर्दै द न्यू योर्क टाइम्स् का सम्पादकहरूले कम्तिमा पनि यसो भने, “यो एउटा ठूलो विषय हुन सक्दछ ।” यो लेखमा उल्लेखित अर्को एउटा बुँदा यो हो, “नियमित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरावस्थाकाहरूका दिमागहरूले प्रतिक्रिया जनाउने तरिकामा अत्यन्त नाटकीय परिवर्तनहरू देखिइरहेका छन्, जसका दीर्घकालीन परिणामहरू वयस्क अवस्थासम्म पुग्न सक्दछन् । त्यसले समयसँगै हुने दिमागको विकासको लागि एउटा तह तयार पारिरहेको हुन सक्दछ ।”
अब त्यो एउटा जगाउने घण्टी मात्र हो र यसले अभिभावकहरू र अरूलाई यसो भन्दछ, “हेर्नुहोस्, योचाहिँ तपाईंको जवान व्यक्तिका भावनाहरू वा हृदयमा ठीक अहिले भइरहेको कुरा मात्र होइन । यो त तिनीहरूका दिमागमा वास्तवमै भइरहेको कुरा पो हो ।” अब, वयस्क दिमागहरूमा परिवर्तनहरू हुँदैनन् भनेर भन्नुपर्दैन, तर स्पष्ट रूपमा भन्नुपर्दा, हामी सबैले बुझ्दछौं कि किशोरावस्थामा दिमाग भौतिक रूपमा परिवर्तन भइरहेको हुन्छ, र त्यो विकासले जीवनभरिको लागि परिणामहरू ल्याउनेछ, र त्यसैले हामीले ती परिणामहरूको बारेमा अहिले नै फिक्री गर्नुपर्दछ ।
उक्त अध्ययनको अर्को तथ्याङ्क रोचक छः “सामाजिक सञ्जालमा जोडिएका सबै अमेरिकी किशोरावस्थाहरूमध्ये ९७ प्रतिशतले त्यसलाई दिनहुँ प्रयोग गर्दछन् र ४६ प्रतिशतले त्यसको जानकारी दिन्छन्” — अनि स्मरण रहोस् यो आफैले जानकारी गराएको हो — “तिनीहरू ‘लगभग छिन-छिनमै’ अनलाइन हुन्छन्” भनी प्यू रिसर्च सेन्टरले प्रकाशन गरेको अर्को अध्ययनले बताउँदछ । हाम्रो लागि यो कुरा पनि रोचक हुनुपर्दछ कि यो अनुसन्धानमा सङ्लग्न मानिसहरूमध्ये केहीले भन्दछन् कि हामीले यसको बारेमा केही पनि गर्न सक्दैनौं, तर यसको बारेमा कम्तिमा पनि थाहा भने पाइन्छ । एकजना अनुसन्धानकर्ताले भने, “यही नै नयाँ सामान्य अवस्था हो ।” हो, यदि यो नयाँ सामान्य अवस्था हो भने र यो हाम्रो समाजभरि छ भने हामी ठूलो समस्यामा छौं । तर कम्तिमा पनि यो जानकारी पाएका अभिभावकहरू, ख्रीष्टियान अभिभावकहरूले यसलाई एउटा वैज्ञानिक अध्ययनको रूपमा मात्र नभई, एउटा व्यक्तिगत चुनौतीको रूपमा पनि हेर्नुपर्दछ ।
नोट र सन्दर्भहरू
↑1 | अर्थ: “नयाँ अध्ययनले देखाएअनुसार, सामाजिक सञ्जालको प्रयोगले किशोरावस्थाकाहरूको दिमागमा परिवर्तनहरू गराउँदछ” |
---|